काठमाडौँ । चितवनमा सवारी दुर्घटना गराएर भाग्ने ‘हिट एण्ड रन’का घटना बढ्दै गएपछि प्रहरीले कडाइ र सचेतनामूलक अभियानको तयारी गरेको छ। सवारीसाधनको चाप बढेसँगै यस्तो लापरबाही पनि बढेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार ‘हिट एण्ड रन’ गम्भीर अपराध हो र यस्ता घटनामा संलग्न चालक प्रहरीको निगरानीबाट उम्किन नसक्ने स्पष्ट पारेका छन्। उनका अनुसार साउनयता जिल्लामा १५ वटा हिट एण्ड रनका घटना दर्ता भएका छन् र ती सबैको पहिचान भइसकेको छ।
चितवन पूर्व–पश्चिम राजमार्ग र काठमाडौं प्रवेश गर्ने मुख्य नाकामा पर्ने भएकाले सवारी आवागमन उच्च रहेको र दुर्घटनाको जोखिम पनि बढी रहेको प्रहरीको भनाइ छ। यसलाई नियन्त्रण गर्न विशेष संयन्त्र बनाएर काम भइरहेको एसपी पुरीले बताए।
दुर्घटनापछि भाग्दा समस्या झन् जटिल हुने भन्दै उनले चालकलाई तुरुन्त प्रहरीलाई जानकारी गराई आत्मसमर्पण गर्न आग्रह गरेका छन्। त्यसो गरेमा घाइतेको उपचार छिटो हुने, ज्यान जोगिन सक्ने र कानुनी प्रक्रिया पनि सहज हुने प्रहरीले जनाएको छ।