काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीलाई लिएर विवाद भइरहेका बेला पर्वतारोही टासी लाक्पा शेर्पाले उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिन चाहेको बताएका छन्। आफ्नै कर्ममार्फत देशका लागि योगदान दिने प्रतिबद्धता जनाउँदै उनले उम्मेदवार सिफारिसबाट नाम फिर्ता लिन चाहेको स्पष्ट पारेका हुन्।
टासीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू दलगत राजनीतिमा रुचि नराख्ने बताएका छन्। उनले लेखेका छन्,
“आगामी निर्वाचनमा सम्पूर्ण राजनीतिक दल तथा योग्य उम्मेदवारहरूलाई विशेष शुभकामना व्यक्त गर्दछु। प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ मेरो नाम छनोट गरिएकोमा धन्यवाद। तर म दलगत राजनीतिमा रुचि नराख्ने भएकाले मेरो नाम सूचीबाट फिर्ता लिन चाहन्छु। म सधैं आफ्नो देशको उन्नतिका लागि आफ्नै तरिकाले, एक साधारण नागरिकका रूपमा आफ्नो कर्ममार्फत सक्दो योगदान दिनेछु।”
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा नातावाद, कृपावाद र परिवारवाद हाबी भएको भन्दै आलोचना हुँदै आएको छ। केही दिनअघि मात्रै टासीका दाजु टासी मिङ्मा शेर्पा रास्वपामा प्रवेश गरेका थिए, जसका लागि टासीले शुभकामना पनि दिएका थिए।
एउटै परिवारका व्यक्तिहरूलाई प्राथमिकता दिइएको तथा नजिकका व्यक्तिहरूलाई समानुपातिक सूचीमा समेटिएको आरोप लागेपछि पार्टी थप आलोचनामा परेको छ। यस विषयमा पार्टीभित्रैबाट समेत असन्तोष व्यक्त भइरहेको छ।
यसैबीच, समानुपातिक उम्मेदवारको सूचीमा परेका केही नामहरूमाथि आपत्ति जनाइएपछि पार्टी सभापति रवि लामिछाने र ऊर्जामन्त्री कुलमान घिसिङले सूचीमा भएका त्रुटि सच्याइने प्रतिबद्धता जनाएका छन्। रास्वपाले निर्वाचन आयोगमा बन्दसूची पेश गरेपछि उत्पन्न विवादबारे दुवैले स्पष्टीकरण दिएका हुन्।
रास्वपाले ११० जना उम्मेदवारको सूची तीन पक्षबाट संकलन गरी पेश गरेको र प्रारम्भिक मतदान (प्राइमरी इलेक्सन) मा शीर्ष स्थानमा रहेका केही उम्मेदवारलाई सूचीबाट हटाइएको आरोप लागेको छ। सभापति लामिछानेले विधिभन्दा बाहिरबाट समावेश भएका उम्मेदवार फिर्ता गरिने र प्राविधिक त्रुटि सच्याइने स्पष्ट पारेका छन्।
प्राइमरी इलेक्सनबाट छानिएका उम्मेदवारलाई पछि पार्दै आसेपासे तथा नजिकका व्यक्तिलाई अगाडि सारिएको आरोप पनि रास्वपामाथि लागेको छ। विशेषगरी बालेन शाह र कुलमान घिसिङसँग पार्टी एकता भएपछि उनीहरूसँग निकट व्यक्तिलाई समेट्नुपर्ने दबाबका कारण पहिल्यै छानिएका उम्मेदवारहरू ओझेलमा परेको भन्दै आलोचना भइरहेको छ। पार्टी एकतापछि रास्वपाले अहिले तीव्र आलोचना सामना गरिरहेको छ।