काठमाडौँ । संघीय राजधानी काठमाडौंमा मतदाताको संख्या उल्लेखनीय रूपमा बढेको छ। पछिल्लो तथ्यांकअनुसार यहाँ ५८ हजार नयाँ मतदाता थपिँदा मतदान केन्द्रसमेत ५० ले वृद्धि गरिएको छ।
निर्वाचन आयोगले प्रकाशित गरेको अद्यावधिक नामावलीअनुसार काठमाडौंमा हाल ७ लाख १० हजार ७ सय ७ मतदाता कायम भएका छन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनका बेला यो संख्या ६ लाख ५५ हजार ९ सय ९८ मात्र थियो। सबैभन्दा बढी निर्वाचन क्षेत्र (१०) पनि काठमाडौंमै छन्।
जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुर भट्टराईका अनुसार १२ असोजदेखि ४ माघसम्म सञ्चालन गरिएको मतदाता नामावली संकलन अभियानबाट छोटो अवधिमै उल्लेख्य वृद्धि भएको हो। मतदाता बढेसँगै यसपटक हुने निर्वाचनका लागि ८ सय १७ मतदान केन्द्र तोकिएका छन्, जुन अघिल्लो निर्वाचनभन्दा बढी हो।
देशभर भने आगामी प्रतिनिधिसभा निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता कायम भएका छन्, जुन २०७९ को निर्वाचनभन्दा करिब ९ लाख १५ हजार बढी हो। आयोगका अनुसार मतदान स्थल र केन्द्र दुवै संख्यामा यसपटक वृद्धि गरिएको छ।