काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीले राजनीतिक वृत्तमा चासो बढाएको छ। सूचीमा राष्ट्रपति र पूर्वराष्ट्रपतिका सन्तानसमेत समावेश भएपछि कांग्रेसभित्रै तथा बाहिर समेत चर्चा सुरु भएको हो । कांग्रेसले समानुपातिकतर्फको उम्मेदवार सूचीमा राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी र पूर्वराष्ट्रपति रामवरण यादवका छोरालाई स्थान दिएको छ।
यसले पार्टीभित्र अवसर वितरण र नेतृत्वसँग नजिकका व्यक्तिहरूको पहुँचबारे बहसलाई पुनः सतहमा ल्याएको छ । खस–आर्य समूहको महिलातर्फ राष्ट्रपति पौडेलकी छोरी संज्ञा पोखरेल पौडेललाई सूचीमा राखिएको छ । संज्ञा कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेकी छन्। उनी लामो समयदेखि पार्टी गतिविधिमा संलग्न रहँदै आएकी भए पनि उनको नाम राष्ट्रपति पुत्रीका रूपमा जोडिएपछि समानुपातिक सूचीमा परेको विषयलाई लिएर विभिन्न प्रतिक्रिया आएका छन ।
यसैगरी, पूर्वराष्ट्रपति रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव पनि कांग्रेसको समानुपातिक सूचीमा अटाएका छन्। मधेसी पुरुष कोटाबाट समेटिएका चन्द्रमोहन कांग्रेसका केन्द्रीय सदस्यसमेत हुन्। पार्टी संगठनमा सक्रिय भूमिकामा रहेका उनी समानुपातिक उम्मेदवारका रूपमा चयन भएपछि कांग्रेसभित्र स्थापित र पहुँच भएका परिवारका सदस्यहरूलाई प्राथमिकता दिएको आरोपसमेत उठ्न थालेको छ।
समानुपातिक सूचीमा पारिवारिक सम्बन्धका आधारमा चिनिने नामहरू यत्तिमै सीमित छैनन्। सोलुखुम्बुबाट पूर्वमन्त्री बलबहादुर केसीकी पत्नी रिना उप्रेती पनि कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा समावेश भएकी छन्। रिना उप्रेतीको नाम सार्वजनिक भएसँगै स्थानीय स्तरदेखि केन्द्रीय राजनीतिसम्म ‘नेतृत्वको वरिपरि घुम्नेहरूलाई अवसर’ भन्ने बहस फेरि चर्किएको छ।
कांग्रेसले भने समानुपातिक सूची समावेशीता, अनुभव र पार्टीप्रतिको योगदानका आधारमा तयार गरिएको दाबी गर्दै आएको छ। पार्टीका नेताहरूका अनुसार सूचीमा परेकाहरू सबै पार्टी संगठनमा सक्रिय भूमिका खेलेका व्यक्ति हुन् र उनीहरूलाई केवल पारिवारिक पृष्ठभूमिका आधारमा हेर्न नहुने तर्क गरिएको छ।
तर आलोचकहरू भने समानुपातिक प्रणालीको मूल मर्म पछाडि पारिएका, कमजोर र अवसर नपाएका समूहलाई प्रतिनिधित्व गराउने भए पनि कांग्रेसले यसलाई बेवास्ता गरेको टिप्पणी गर्छन् ।
उनीहरूका अनुसार समानुपातिक सूचीमा बारम्बार पहुँचवालाहरू, राजनीतिक परिवारका सदस्य र पहिले नै स्थापित व्यक्तिहरू दोहोरिरहँदा नयाँ अनुहार र तल्लो तहका कार्यकर्ताले अवसर पाउन मुस्किल हुँदै गएको छ ।