Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेननिकट पूर्वसांसदले छोडे एमाले, रास्वपाबाट रुपन्देहीमा विष्णु पौडेलसँग चुनाव भिड्ने तयारी

बालेननिकट पूर्वसांसदले छोडे एमाले, रास्वपाबाट रुपन्देहीमा विष्णु पौडेलसँग चुनाव भिड्ने तयारी

१५ पुस, काठमाडौँ । नेकपा एमालेका पूर्वसांसद बासुदेव घिमिरेले पार्टी परित्याग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले जनताको इच्छा र चाहना सम्बोधन गर्ने अवस्था नदेखिएकोले पार्टी परित्याग गरेको बताएका छन् ।

‘अहिले आम जनताको चाहना सुशासन, विकास, समृद्धीका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो । देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो । देश प्रतिको अविचलित निष्ठा,सुशासन, विकास र समृद्धी राजनीतिको अनिवार्य शर्त हो,’ उनले भनेका छन्, ‘पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिनदेखि म संलग्न रहेको पार्टीको जिम्मेवारीदेखि अलग रहेको छु ।’

उनले आजसम्म आफूलाई अवसर र जिम्मेवारी दिनेलाई धन्यवाद पनि दिएका छन् । त्यस्तै सुशासन, विकास र रोजगारीका साथ मुलुकलाई समृद्धीको यात्रामा अघि बढाउने अभियानमा इमान र निष्ठाका साथ सधैँ काम गरिरहने पनि बताएका छन् ।

उनी यसअघिको निर्वाचनमा रुपन्देही ५ बाट निर्वाचित भएका थिए । त्यस्तै उनी तिलत्तोमा नगरपालिकाका पूर्वमेयर पनि हुन् । पछिल्लो समय उनी काठमाडौँका मेयर बालेन शाहसँग नजिक छन् । बालेन पनि केहीदिनअघि मात्रै रास्वपा प्रवेश गरेका छन् ।

घिमिरे रास्वपा प्रवेशको तयारीमा छन् । रास्वपा प्रवेश गरेर उनी एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग चुनाव भिड्ने तयारीमा छन् ।