Shares
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हिजो निर्वाचन आयोगमा पेश गरेको समानुपातिक उम्मेदवारको बन्दसूचीको प्राथमिकता क्रम र पार्टीले गरेको प्राइमरी इलेक्सनको नतिजाबीच ठूलो अन्तर देखिएपछि रास्वपाभित्र असन्तोष चुलिएको छ। प्राइमरी इलेक्सनमा लोकप्रिय मत ल्याएका उम्मेदवारहरू बन्दसूचीमा पछाडि पारिएको र कम मत ल्याएकालाई अगाडि सारिएको भन्दै पार्टीभित्र भाँडभैलो सुरु भएको हो।
पार्टी स्थापना कालदेखि योगदान पुर्याउँदै आएका र सभापति रवि लामिछानेलाई निरन्तर साथ दिँदै आएका रमेश प्रसाईमाथि पार्टीले अन्याय गरेको आरोप उठेको छ। प्राइमरी इलेक्सनमा पहिलो स्थानमा आएका प्रसाईलाई बन्दसूचीको पाँचौँ स्थानमा राखिएपछि उनी असन्तुष्ट बनेका छन्। प्रसाईले पार्टीको निर्णयप्रति अर्को कदम चाल्न सक्ने संकेत पनि दिएका छन्।
टेलिभिजन कार्यक्रमको समयदेखि नै प्रसाईले लामिछानेलाई समर्थन गर्दै आएका थिए। उनी आज पनि लामिछानेकै पक्षमा भए पनि हालको निर्णयले उनी रुष्ट देखिएका छन्। यता प्रसाईको स्थानमा विपीन आचार्यलाई पहिलो नम्बरमा राखिएको छ। प्राइमरी इलेक्सनमा सातौँ स्थानमा रहेका विपीनलाई बन्दसूचीको पहिलो नम्बरमा पुर्याइएको हो। दोस्रो नम्बरमा भने बालेन शाहको कोटाबाट चन्द्र ढकालका छोरा सचिन ढकाल छन्।
प्रसाई मात्रै होइन, अन्य धेरै नेतामाथि पनि अन्याय भएको भन्दै आवाज उठ्न थालेको छ। खस–आर्य महिला समूहमा प्राइमरी इलेक्सनमा सबैभन्दा बढी मत ल्याएकी रञ्जु दर्शनालाई बन्दसूचीमा सबैभन्दा पछाडि राखिएको छ। उनलाई दशौँ स्थानमा राखिएको छ भने पहिलो नम्बरमा रास्वपाकी सहप्रवक्ता प्रतिभा रावल रहेकी छन्।
खस–आर्य महिलातर्फ दोस्रो नम्बरमा बालेन शाहको कोटाबाट गोल्स्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणा परेकी छन्। तर, सर्वाधिक मत ल्याएकी रञ्जुलाई दशौँ नम्बरमा राख्दै समीक्षा बास्कोटालाई पाँचौँ नम्बरमा ल्याइएकोप्रति पनि असन्तोष व्यक्त गरिएको छ।
यसरी बन्दसूची बुझाउँदा केही व्यक्तिमात्र होइन, धेरै उम्मेदवारको प्राथमिकता क्रम हेरफेर गरिएको देखिन्छ। प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छनोट गरिएको भन्दै लोकप्रियता बटुलेको रास्वपाले अन्तिम सूचीमा भने धेरै नेतामाथि अन्याय गरेको आरोप लागेको छ।
दलिततर्फ प्राइमरी इलेक्सनमा सर्वाधिक मत ल्याएका विजय जैरु बन्दसूचीबाट बाहिरिएका छन्। दलित समूहमा भने रूपक विश्वकर्मालाई पहिलो स्थानमा राखिएको छ। दलित महिला समूहमा उज्यालो नेपाल पार्टीको कोटाबाट आएकी रिमा विश्वकर्मा पहिलो नम्बरमा परेकी छन्।
पार्टी एकतापछि रास्वपा, उज्यालो नेपाल र बालेन शाह पक्षबीच सहमतिअनुसार संयुक्त रूपमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाइएको हो। रास्वपाले निर्वाचन आयोगमा पेश गरेको सूचीमा गायक प्रकाश सपुतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्मका नाम समावेश छन्।
सोमबार रास्वपाले बालेन शाह र कुलमान घिसिङ समूहसँगको सहकार्यमा कुल ११० जनाको नामावली निर्वाचन आयोगमा पेस गरेको थियो।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209