Shares
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी सहिद रसिक खतिवडाकी आमा रचना खतिवडाको नाम समानुपातिक उम्मेदवारको सूचीमा समावेश गरेको छ। खतिवडाका अनुसार रास्वपा सभापति रवि लामिछानेले व्यक्तिगत रूपमा भेटेर उनलाई समानुपातिक सूचीमा बस्न प्रस्ताव गरेका थिए।
जेनजी आन्दोलनको क्रममा रसिक खतिवडाको भदौ २३ गते बानेश्वरमा भएको प्रदर्शनका क्रममा छाती र पेटमा गोली लागेर मृत्यु भएको थियो। छोरा गुमाउँदाको पीडा अझै ताजा रहँदै गर्दा, त्यसै पीडाबाट केही आधार खोज्दै रचना खतिवडा राजनीतिमा प्रवेश गरेकी हुन्।
भदौ २३ गतेको जेनजी आन्दोलनमा रसिकसहित १९ जनाको ज्यान गएपछि भदौ २४ गते देशको अवस्था थप तनावग्रस्त बनेको थियो। सो दिन सरकारी कार्यालय, नेताहरूका निजी निवास र व्यापारीका महलसमेत जलेर ध्वस्त भएका थिए। स्थिति नियन्त्रणमा लिन नसकेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अपदस्थ भएको थियो। उनले राजीनामा दिएर प्रधानमन्त्री निवास छाडेका थिए।
देश अभिभावकविहीन बनेपछि जेनजी आन्दोलनकै पहलमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो। उक्त सरकारले फागुन २१ गते निर्वाचन गराउनुपर्ने बाध्यता रहेको छ। त्यसका लागि दलहरूले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेका छन्।
यसै क्रममा रास्वपाले पनि समानुपातिक उम्मेदवारको सूची आयोगमा बुझाएको छ। उक्त सूचीमा रचना खतिवडा खस–आर्य महिला क्लस्टरबाट नवौँ नम्बरमा परेकी छन्। सो क्लस्टरमा प्रतिभा रावल पहिलो नम्बरमा छन् भने त्यसपछि विदुषी राणा, लिमा अधिकारी (आचार्य), श्रद्धा कुँवर, समीक्षा बास्कोटा, टीका संग्रौला, क्रान्तिशिखा धिताल र मञ्जु भूसालको नाम क्रमशः उल्लेख छ।
रास्वपाले आफ्ना उम्मेदवारहरू आन्तरिक रूपमा प्राइमरी निर्वाचनबाट प्राप्त मतका आधारमा छनोट गरेको जनाएको छ। साथै बालेन शाह र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँगको सहमतिअनुसार कुल ११० जनाको नाम समानुपातिक सूचीमा समेटिएको छ।
रास्वपाले पेश गरेको बन्दसूचीमा गायक प्रकाश सपुतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्मका नाम समावेश छन्। यस्तै कलाकार रिमा विश्वकर्मा, डा. रामजी राम, अधिकारकर्मी मोहना अन्सारीलगायत पनि सूचीमा परेका छन्। रास्वपा नेता कविन्द्र बुर्लाकोटी र विपीन आचार्यलगायत नेताहरू सूची लिएर निर्वाचन आयोग पुगेका थिए।
रास्वपा र उज्यालो नेपाल पार्टीबीच पार्टी एकता भइसकेको छ। पार्टी एकतासँगै रास्वपा, उज्यालो नेपाल र बालेन शाह पक्षबाट संयुक्त रूपमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाइएको हो। सहमतिअनुसार उज्यालो नेपाल पार्टीले रास्वपाको केन्द्रीय कमिटीमा वरिष्ठ उपसभापतिसहित महामन्त्री र ३० प्रतिशत हिस्सा पाउनेछ।
पार्टीको नाम, झण्डा र चुनाव चिह्न भने रास्वपाकै रहनेछ। साथै फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्षतर्फ ३० प्रतिशत र समानुपातिकतर्फ २० प्रतिशत उम्मेदवार उज्यालो नेपाल पार्टीबाट उठाउने सहमति भएको छ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209