काठमाडौं । राजधानीका व्यस्त क्षेत्रमा पर्यटक र सर्वसाधारणलाई दुःख हैरानी दिने गतिविधि बढेपछि प्रहरीले कारबाही थालेको छ। चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा बलजफ्ती रूपमा विभिन्न प्रलोभन देखाउँदै लुटपाट, अभद्र व्यवहार र मानसिक दबाब दिने गरेको सूचनाका आधारमा १२ जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा नुवाकोटका अमृत खड्का, पर्साका अकलेश साह र दिनेश पटेल, काभ्रेका सुजन तामाङ र रोजन तामाङ, रोल्पाका प्रवीण ओली, कञ्चनपुरका जितेन्द्र सिंह विक, धनकुटाकी रोशनी राई, झापाका तिर्थ राजवंशी र संगिता तामाङ, उदयपुरकी रचना मगर तथा सुर्खेतकी जेनिशा थापा रहेका छन्।
प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा म्याद लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।