काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार छनोटका लागि भएको प्राइमरी निर्वाचनमा खस आर्यतर्फ सबैभन्दा धेरै मत रमेश प्रसाईले पाएका छन्। उनले १८,२३ मत प्राप्त गरेका छन्।
त्यस्तै दोस्रो स्थानमा प्रमोद न्यौपाने, तेस्रोमा रञ्जु दर्शना, चौथोमा ज्वाला संग्रौला, क्रमशः लिमा अधिकारी, क्रान्तिशिखा धिताल,समिक्षा बास्कोटा टप ९ मा परेका छन्।
आदिवासी जनजाती तर्फ उत्तमबहादुर गुरुङ, मिलन लिम्बु, एलिजा गुरुङ, सत्यकला राई लगायत छन्। मधेसी कोटामा पुनम कुमारी अग्रवाल अग्रस्थानमा छिन्। दलित तर्फ विजय जैरु, मुस्लिम तर्फ समिना मिया, र थारुमा प्रेमलाल चौधरी अग्रस्थानमा छन्।
रास्वपाले शनिबार बिहान ७ बजेदेखि आइतबार बेलुका ७ बजेसम्म मतदानको समय तोकेको थियो। तर मतदाताको चापको कारण सोमबार बिहान १० बजेसम्म समय थप गरिएको थियो।
फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज निर्वाचन आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो। आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउने दलको संख्या हालसम्म पुगेको छ। दलहरू आ–आफ्ना उम्मेदवारहरूको सूची तयार गर्ने अन्तिम गृहकार्यमा छन्।
निर्वाचन आयोगको सूचनाअनुसार, हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, र नेपाली कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल) ले बन्द सूची बुझाइसकेको छ। नेमकिपा र राष्ट्रिय जनमोर्चाले ११० जनाको सूची बुझाएका छन्। त्यस्तै, नेपाल लोकतान्त्रिक पार्टीले १२, जनप्रिय लोकतान्त्रिक पार्टीले १२, र नेपाली कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल) ले २० जना उम्मेदवारको सूची आयोगमा बुझाएको छ।
रास्वपाले पनि इलेक्सनमार्फत समानुपातिक उम्मेदवारको टुङ्गो लगाएको छ। यता बालेन शाहले आफ्नो तर्फबाट सिफारिस गर्नुपर्ने समानुपातिक उम्मेदवारहरूको बन्द सूची तयार गर्न गृहकार्य सुरु गरेका छन्। रास्वपासँग सहमति अनुसार, निर्वाचन आयोगमा बुझाउनुपर्ने ११० जनाको सूचीमध्ये बालेन ४० जनाको नाम पठाउने तयारीमा छन्।
विशेषगरी, राष्ट्रिय स्वतन्त्र पार्टी भित्र भइरहेको आन्तरिक भोटिङ र उम्मेदवार छनोट प्रक्रियालाई ध्यानमा राख्दै बालेनले आफ्नो रणनीति तय गरिरहेका छन्। उनले जेनजीलाई पनि समेटेका छन्।