काठमाडौँ । टोखाबाट बरामद २५ करोड रुपैयाँभन्दा बढी रकमका मालिक नारायण पौडेलविरुद्ध अन्ततः सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। पौडेल र उनका भरिया तथा ट्रक चालक कुसाङ लामा विरुद्ध २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका अनुसार जिल्ला न्यायाधीवक्ता सन्तोषराज कटुवालले आइतबार मुद्दा दायर गरेका हुन्। गत ४ चैतमा टोखास्थित झोरबाट चीनको केरुङतर्फ जाँदै गरेको ट्रकबाट ठूलो परिमाणमा युरो र अमेरिकी डलर बरामद भएको थियो। सो क्रममा चालक लामा पक्राउ परे पनि रकमका मालिक पौडेल भने फरार थिए।
पछि पौडेल सुटुक्क अदालतमा उपस्थित भई ३५ लाख धरौटी बुझाएर रिहा भएका थिए, जसले घटनाबारे थप शंका उत्पन्न गरेको थियो। भरिया लामा भने पुर्पक्षका लागि कारागार चलान भई हाल पनि थुनामा छन्।
अनुसन्धानका क्रममा पौडेलकै योजनामा रकम ट्रकमा राखिएको सीसी क्यामेरा फुटेज, मोबाइल सम्पर्क र आर्थिक लेनदेनका प्रमाण फेला परेका थिए। प्रहरीको प्रारम्भिक निष्कर्षअनुसार काठमाडौंबाट विदेशी मुद्रा चीन लगेर सुन ल्याउने उद्देश्यले रकम ओसारपसार गरिएको आशंका गरिएको छ।
यो प्रकरणले ‘भरिया मात्रै समातियो, मालिक कहाँ?’ भन्ने प्रश्न उठाउँदै संसद्सम्म चर्चा पाएको थियो। लामो अनुसन्धानपछि अब भने मुख्य अभियुक्तमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा अगाडि बढाइएको छ।