काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल सकाउँदै बिदा हुन लागेका छन्। घिमिरेका सञ्चार अधिकृत शेखर अधिकारीका अनुसार, सभामुखले सरकारी निवास छोड्ने तयारी पनि अघि बढाइसकेका छन्।
प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा अदालतमा विचाराधीन भएकाले उनी सार्वजनिक घोषणा नगरी बिदा हुने बताइएको छ। अधिकारीले भने, “प्रक्रियागत रूपमा अप्ठ्यारो नपरोस् भनेर सभामुख सार्वजनिक रूपमा बिदा घोषणा नगरी निवास सर्ने तयारी गरिरहनुभएको छ।”
संविधानअनुसार, प्रतिनिधि सभा विघटन भएपनि सभामुख र उपसभामुख आफ्नो पदमा बहाल रहन्छन् र आगामी निर्वाचनका उम्मेदवारी दिने अघिल्लो दिनसम्म जिम्मेवारीमा रहन्छन्। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तय भएकाले आज–भोलि समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाइँदैछ।