Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओली जाँचबुझ आयोगमा बयान दिन तयार, तर आफैं सचिवालयमा उपस्थित नहुने निर्णय

ओली जाँचबुझ आयोगमा बयान दिन तयार, तर आफैं सचिवालयमा उपस्थित नहुने निर्णय

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जाँचबुझ आयोगमा आफ्नो भनाइ राख्न अन्ततः तयार भएका छन्। आयोगको सचिवालयमा उपस्थित भएर बयान नदिने अडान कायमै राखे पनि उनले कुनै न कुनै माध्यमबाट आयोगसमक्ष आफ्नो धारणा राख्न सहमति जनाएका हुन्।

एमाले तथा आयोगसम्बद्ध उच्च स्रोतका अनुसार ओलीको भनाइ गुन्डुस्थित निवासमै गएर लिन सकिने विषयमा राजनीतिक तहमा समझदारी बनिसकेको छ। आयोगका पदाधिकारी पनि यसमा लचक देखिएको स्रोतको दाबी छ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बोलाएको तीन शीर्ष नेताको बैठकमा ओली सहभागी हुनु बयानका लागि वातावरण बनेको संकेत मानिएको छ।

यसअघि आयोग अध्यक्ष गौरीबहादुर कार्कीको निष्पक्षतामाथि प्रश्न उठाउँदै ओलीले बयान नदिने अडान लिएका थिए। तर कार्कीविरुद्ध दायर रिट सर्वोच्च अदालतले खारेज गर्दै आयोगलाई वैधता दिएपछि परिस्थिति बद्लिएको बताइन्छ। स्रोतका अनुसार बयानपछि ओलीमाथि लगाइएको स्थानहद फुकुवा गर्ने तयारीसमेत भइरहेको छ।

आयोग र ओलीनिकट पक्षबीच निरन्तर सम्पर्क भइरहेको र आयोगले कुनै न कुनै रूपमा ओलीको भनाइ समेट्ने निश्चित भएको स्रोतहरूले बताएका छन्।