Shares
Shares
सुर्खेत। हिमाली जिल्ला डोल्पाको राजनीति पछिल्लो समय सीमित व्यक्तित्व र एउटै पारिवारिक घेराभित्र केन्द्रित हुँदै गएको देखिन्छ । जिल्लामा प्रभावशाली मानिने शीर्ष तीन राजनीतिक दल—नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी + एकीकृत समाजवादी)को नेतृत्व तहमा एउटै परिवार तथा नजिकका नातागोता हाबी हुँदै गएको छ । राजनीतिक विश्लेषकका अनुसार पार्टीको जिल्ला नेतृत्वदेखि उम्मेदवार छनोटसम्म एउटै परिवारका सदस्य वा उनीहरूका निकटतम व्यक्तिहरू दोहोरीनु डोल्पाको राजनीतिक विशेषता जस्तै बनेको छ। स्थानीय कार्यकर्ता तथा युवा नेताहरूले लामो समयदेखि पार्टीमा योगदान दिँदै आए पनि निर्णायक जिम्मेवारी पाउन नसकेको गुनासो गर्दै आएका छन् ।
योग्यता र योगदान भन्दापनि पारिवारिक सम्बन्धकै आधारमा नेतृत्व चयन हुनु निराशाजनक भएको नाम उल्लेख नगर्ने सर्तमा डोल्पाका एक युवा नेताले बताए । कांग्रेसका केन्द्रीय सदस्य कर्ण बूढा र नेकपाका नेता धनबहादुर बुढा, नेकपा एमालेका नेता शेर बहादुर बुढा, एकातिर अनि एमाले, कांग्रेस छोडेर राप्रपा तिर लागेका अंगद बूढा अर्कोतिर राजनीतिमा हुने गरेका कारण यहाँको राजनीति पेचिलो हुने गरेको डोल्पाका नेताहरुको भनाइ छ । धन बहादुर, कर्ण बहादुर र शेर बहादुरको पार्टी अलगअलग भएपनि राजनीति सहकार्यमा सधै आन्तरिक रूपमा एकजुट देखिन्छन् । त्यसको प्रत्यक्ष प्रमाण हो २०७९ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन । उतिखेर नेपाली काँग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीले चुनावमा सहकार्य गरेर बढ्ने निर्णय गरे ।
त्यो बेला प्रतिनिधि सभा एउटा क्षेत्र रहेको डोल्पामा एकीकृत समाजवादीको भागमा पर्यो । प्रदेश सभा २ क्षेत्र रहेको डोल्पामा क्षेत्र ‘क’ नेपाली काँग्रेस र क्षेत्र ‘ख’ नेकपा माओवादी केन्द्रको भागमा पर्यो । समाजवादीले प्रतिनिधि सभामा धन बहादुरलाई उम्मेदवार बनायो, नेपाली कांग्रेसले ‘क’ मा दीपेन्द्र शाही र प्रदेश ‘ख’ मा नेकपा माओवादी केन्द्रले वीर बहादुर शाहीलाई उम्मेदवार बनायो । प्रतिनिधि सभा र प्रदेश सभा ‘ख’ मा गठबन्धनका उम्मेदवार विजयी हुँदा प्रदेश ‘क’ मा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका शाही हार्न पुगे । यो क्षेत्रमा नेकपा एमालेले शेर बहादुरलाई उम्मेदवार बनाएको थियो । उनी विजयी समेत भए । शेरबहादुरलाई गठबन्धनका उम्मेदवार (धनबहादुर) ले नै सहयोग गरेको भन्दै त्यो बेला धनबहादुरको खुब आलोचना भएको थियो ।
पार्टीको नेतृत्व घुमिरह्यो एकै परिवार वरिपरि
डोल्पामा शीर्ष पार्टीको नेतृत्व एउटै परिवारको वरिपरि घुमिरहेको छ । डोल्पाको राजनीतिमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बूढा २०७६ सालमा कांग्रेसमा प्रवेश गरे। उनी कांग्रेस प्रवेश गर्दा राप्रपाका केन्द्रीय सदस्य थिए। कांग्रेसमा उनी केन्द्रीय सदस्यको हैसियतमा प्रवेश गरे। त्यो बेला कांग्रेसमा प्रवेश गरेका कर्णबहादुरले कांग्रेसको जिल्ला सभापति भएका अंगदलाई पाखा लगाइछोडे। कर्णबहादुरका भाइ धनबहादुर बूढा दोश्रो संविधानसभाको बेलामा नेकपा एमाले प्रवेश गरे ।
नेकपा एमालेमा केपी ओली र माधव नेपाल छुट्टिएपछि नेपाल तिर देखिएका धनबहादुर अहिले नेपाल र प्रचण्ड बीचको समीकरण पछि बनेको नेकपामा छन् । धनबहादुर पनि राप्रपा छोडेर नेकपा एमाले हुँदै तत्कालिन नेकपा एसमा देखिए । कर्ण र धनबहादुरका भतिजा शेरबहादुर बूढा नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष तथा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख समेत भइसकेका छन् । हाल उनी नेकपा नेकपा एमालेबाट कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । डोल्पामा शीर्ष देखिएका सबै पार्टी कर्णबहादुर र धनबहादुरको कब्जामा छ । यो परिवारले त्यो बेला तत्कालीन माओवादीमा भने पकड जमाउन सकेको थिएन् । त्यो समय तत्कालीन माओवादी पार्टी र धनबहादुरको सधै वार चलिरहन्थ्यो । कर्ण र धनबहादुरको पारिवारिक दबदबाका कारण यहाँको राजनीति नै सधै अस्थिर बन्दै गएको राजनीतिकर्मीले बताउने गरेका छन् ।
अन्यायले निष्क्रिय बने अंगद अंगद बूढा
२०७९ भदौमा राप्रपामा प्रवेश गरे । उनी नेपाली कांग्रेस डोल्पाका पूर्व जिल्ला सभापति हुन् । उनी नेपाली २०७० सालमा एमाले छोडेर कांग्रेसमा प्रवेश गरेका थिए । अंगद डोल्पामा लोकप्रिय युवा नेतामामा पर्ने गरेको डोल्पाका स्थानीयहरू बताउँछन् । कर्ण र धनबहादुर राप्रपा हुँदा त्यो बेला अंगद तिनको परिवारको विरुद्धमा थिए । कर्ण र धनबहादुरको पारिवारिक राजनीतिका विरुद्धमा लागेका अंगद सुरुमा एमालेको राजनीतिमा थिए । तर धनबहादुर २०७० सालमा एमाले प्रवेश गरेपछि अंगद एमाले छोडेर नेपाली कांग्रेसमा प्रवेश गरे। उनी कांग्रेसमा प्रवेश गर्दा नेकपा एमालेको जिल्ला कमिटीका अध्यक्ष भइसकेका थिए । अंगद २०७४ सालमा बाम गठबन्धन भएका बेलामा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भएका थिए । तर बाम गठबन्धन भएका कारणले अंगदले पराजय भोगे । २०७० सालमा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने बेलामा राप्रपाबाट एमाले प्रवेश गरेर धनबहादुरले टिकट हात पारेपछि उनी कांग्रेसमा प्रवेश गरे । त्यो बेला सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएर जित हात पार्ने बेलामा फेरि राप्रपाबाट धनबहादुरका दाइ कर्णबहादुर कांग्रेसमा प्रवेश गरे अनि अंगदले पार्टी छोडे । राप्रपामा देखिएका अंगद पछिल्लो समय भने डोल्पाको राजनीतिमा निष्क्रिय बनेका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले प्रत्यक्षतर्फ केन्द्रीय सदस्य रहेका कर्ण बूढालाई एकल उम्मेदवार सिफारिस गरेको थियो ।
त्यसैगरी, २०७९ मै भएको प्रदेश निर्वाचन क्षेत्र ‘क’का लागि नेकपा एमालेले डोल्पाबाट प्रत्यक्षतर्फ बुढा पारिवार कै शेरबहादुरलाई एकल उम्मेद्वार सिफारिस गर्यो। तत्कालीन नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ बूढा परिवार कै अर्का धनबहादुर नाम एकल सिफारिस गरेको थियो । डोल्पामा २०४८ सालयता कांग्रेसले भने कुनै चुनाव जित्न सकेको छैन् ।
को हुन् परिवारकै तीन बूढा ?
कर्ण बूढा २०७६ सालमा कांग्रेसमा प्रवेश गरेका थिए । त्यो बेलामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रहेका कर्ण सहित डोल्पाका ५३ जना नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरे । उनलाई नेपाली कांग्रेसले केन्द्रीय सदस्यका रुपमा कांग्रेसमा भित्र्याएको थियो। उनी कांग्रेसको १४ औं महाधिवेशनमा कांग्रेस नेता हृदयराम थानीलाई १ मतान्तरले हराउँदै कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । राप्रपाको सहमहामन्त्री भइसकेका धनबहादुर दोस्रो संविधानसभामा समेत राप्रपाबाट एमालेमा प्रवेश गरी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
यार्सागुम्बाको कारोबार र ठेक्का पट्टामा संलग्न बूढा अहिले नेकपामा छन्। धनबहादुर अहिले पनि ‘क’ श्रेणीका निर्माण व्यवसायी हुन् । त्यो बेला कांग्रेसबाट सांसद चुनाव लडिसकेका अंगद कांग्रेसबाट कर्णको नाम एकल रुपमा सिफरिस भएपछि राप्रपामा प्रवेश गरेका थिए । तत्कालीन समयमा धनबहादुरले राप्रपाबाट एमालेमा प्रवेश गरी सांसदको टिकट लिएपछि एमालेबाट विद्रोह गरेर कांग्रेस प्रवेश गरेका अंगद कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत भएको जिल्ला अधिवेशनमा जिल्ला सभापति भएका थिए। तर राप्रपामा देखिएका अंगद पछिल्लो समय डोल्पाको राजनीतिमा निष्क्रिय जस्तै छन् । डोल्पाको राजनीतिमा ‘किंग मेकर’ मानिने धन बहादुर, कर्ण बहादुर र शेर बहादुर एकै परिवारका हुन् ।
फेरि पनि दाजुभाइकै अनुहार
आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदै छ। देशै भरी बाट निर्वाचनको लागि नेपाली काँग्रेस र नेकपाले करिब–करिब स्थानीयस्तरबाट आ–आफ्ना दलका उम्मेदवारहरुको नाम सिफारिस गर्ने क्रम जारी छ । नेपाली कांग्रेसले आगामी निर्वाचनको लागि कर्णलाई एकल उम्मेद्वार सिफारिस गरेको छ भने नेकपाले धन बहादुरलाई सिफारिस गरेको छ । अझ रोचक त के छ भने यी दुवै सहोदर दाजुभाइ हुन् ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209