काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई) ले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’सँग कुनै पनि प्रकारको भेट नगर्ने स्पष्ट अडान सार्वजनिक गरेका छन्। राजनीतिक भेटघाटमा सक्रिय देखिएका बालेनले बिहीबार साँझ ‘जेनजी’ मिलाउने काम प्रतिनिधि रक्षा बमलाई जिम्मेवारी दिए भने गोपी हमालदेखि हर्क साम्पाङसम्मलाई मिलाउने काम आफूले गर्ने बताएका थिए । त्यसपछि साम्पाङले यसप्रति कडा असहमति जनाएका हुन्।
साम्पाङले आफूलाई कुनै राजनीतिक मिलाप, समन्वय वा सम्झौतामा नजोड्न आग्रह गर्दै यस्तो प्रयासमा आफू सामेल नहुने बताएका छन्। उनका अनुसार बालेनको पछिल्लो अभिव्यक्ति वास्तविक उद्देश्यभन्दा ‘मिडिया ट्रायल’ केन्द्रित छ र जेनजी आन्दोलनलाई दुरुपयोग गर्ने प्रयास हो। यही कारण आफू स्पष्ट रूपमा दूरी कायम गर्ने निर्णयमा पुगेको उनले संकेत गरेका छन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठनको बहस चर्किँदा साम्पाङ स्वयं प्रधानमन्त्री बन्ने सम्भावनाका रूपमा चर्चामा थिए। त्यतिबेला बालेनबाट कुनै समर्थन वा सहयोग नपाएको गुनासो साम्पाङको छ। यही घटनापछि उनी बालेनप्रति असन्तुष्ट हुँदै आएका छन् र त्यसयता सामाजिक सञ्जालमार्फत निरन्तर आलोचनात्मक अभिव्यक्ति दिँदै आएका छन्।
यसै सन्दर्भमा शुक्रबार बिहान साम्पाङले फेसबुकमा बालेनको नाम नलिइकन कडा टिप्पणी गरेका छन्। उनले लेखेका छन्, ‘मिडिया ट्रायल गर्न छोड! जेनजीलाई दुरुपयोग गर्ने र लुकेर देश खरानी बनाउने गेमरसँग हर्क साम्पाङ भेट्दैन। अफवाह फैलाउन छोड!’ उक्त स्टाटसलाई बालेनतर्फ लक्षित टिप्पणीका रूपमा बुझिएको छ।
साम्पाङको यो अभिव्यक्तिले स्वतन्त्र छविका मेयरहरूबीचको दूरी अझ स्पष्ट भएको छ। जेनजी आन्दोलनलाई लिएर फरक–फरक व्याख्या र दाबी भइरहेका बेला साम्पाङको कडा अडानले स्थानीय राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ।
उता धनगढीका मेयर गोपी हमाल भने अहिलेसम्म आफू कता भन्ने कित्ता स्पष्ट गरेका छैनन् ।