Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेनलाई भेट्न रवि लामिछाने आफैं कुपण्डोल पुगे

बालेनलाई भेट्न रवि लामिछाने आफैं कुपण्डोल पुगे

काठमाडौँ । आफ्नै पार्टी खोल्ने तयारीमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग निर्णायक वार्ता गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफैं कुपण्डोल गएका छन्। बालेनले रवि लामिछानेको साथ छाडेर स्वतन्त्र रूपमा पार्टी गठन गर्ने तयारी गरेपछि लामिछाने उनलाई भेट्न जान लागेका हुन्।

रवि लामिछानेले जति सक्दो बालेनलाई मनाएर सहकार्यमा अघि बढ्ने गृहकार्य गरिरहेका छन्। नयाँ पार्टीहरू आपसमा मिल्न नसके पुराना पार्टीहरू पुनः सक्रिय हुने खतरा रहेको भन्दै उनले बालेनसँग भेटेर कुरा मिलाउने प्रयास थालेका हुन्। सोमबार साँझ साढे ६ घण्टा लामो छलफल गरिसकेका उनीहरूबीच आज हुने भेटघाटलाई निर्णायक मानिएको छ।

यता, बालेन शाह हिजो रातिदेखि नै विभिन्न व्यक्तिहरूसँग छलफलमा जुटेका छन्। आज बिहान साढे १० बजेदेखि पुनः भेटघाट सुरु भएको स्रोतले दाबी गरेको छ। बालेनले आफ्नै दलबाट ‘लौरो’ चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारी गरेको बुझिएको छ।

भागबण्डाको विषयमा रवि लामिछानेसँग सहमति नजुटेपछि बालेनले आफ्नै नेतृत्वमा पार्टी अघि बढाउने चाहना देखाएका छन्। लोकप्रिय अनुहारहरू, सामाजिक सञ्जालमा प्रभावशाली व्यक्तित्व तथा जनताबीच परिचित व्यक्तिहरूलाई समेट्दै अघि बढ्ने रणनीतिमा उनी छन्।

यसक्रममा बालेनले डा. भगवान् कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, सरसफाइ तथा युवा अभियन्ता केपी खनाल, जेन–जी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्व सचिव भीम उपाध्याय, पूर्व विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे, कलाकार निश्चल बस्नेत, पत्रकार ऋषि धमला, सञ्चार उद्यमी कैलाश सिरोहिया तथा सञ्चारकर्मी सुरजसिंह ठकुरीसँग समेत छलफल गरेको बुझिएको छ।

जेन–जी अभियन्ताहरूले समेत बालेनलाई साथ दिने तयारी गरेपछि रवि लामिछानेले उनीहरूसँग मिलेर अघि बढ्न बालेनलाई फकाउने रणनीति बनाइरहेका छन्। केही दिनअघि मात्र सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएका लामिछानेले त्यसपछि राजनीतिक भेटघाटलाई थप तीव्र बनाएका छन्। उच्च अदालत बुटवलको तुलसीपुर इजलासबाट धरौटीमा रिहा भएपछि उनी सक्रिय रूपमा राजनीतिक संवादमा जुटिरहेका छन्।

नयाँ दलहरूसँग सहकार्य गर्दै अघि बढ्ने तयारीमा रहेका रवि लामिछाने, बालेन शाहले अलगै राजनीतिक गृहकार्य थालेपछि केही दबाबमा देखिएका छन्। यता, बालेन शाहले पनि पछिल्ला दिनहरूमा राजनीतिक सक्रियता बढाएका छन्। उनले कुलमान घिसिङलगायत व्यक्तित्वहरूसँग सहकार्य गर्न सकिने संकेतसमेत दिएका छन्।

यसअघि पनि रवि लामिछाने र बालेन शाहबीच सहकार्यका विषयमा छलफल भएको भए पनि भागबण्डामा सहमति नजुटेकाले कुरा टुंगिन नसकेको स्रोतले जनाएको छ।