Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मेयर बालेन साह आफ्नै पार्टी गठनको तयारीमा, ‘लौरो’ चुनाव चिह्नसहित राजनीतिमा नयाँ कदम

मेयर बालेन साह आफ्नै पार्टी गठनको तयारीमा, ‘लौरो’ चुनाव चिह्नसहित राजनीतिमा नयाँ कदम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग करिब ६ घण्टा वार्ता गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह अब आफ्नै पार्टी बनाउने गृहकार्यमा जुटेका छन्। रवि लामिछानेसँग सहकार्य गरेर अघि बढ्ने चर्चा चले पनि बालेन भने अब आफ्नै शैलीमा राजनीतिमा उत्रिन लागेको स्रोतको दाबी छ।

त्यसका लागि उनले हिजो रातिदेखि नै विभिन्न व्यक्तिहरूसँग छलफल सुरु गरेका छन्। आज बिहान साढे १० बजेदेखि पुनः भेटघाट र परामर्श सुरु भएको बताइएको छ। बालेनले आफ्नै दलबाट ‘लौरो’ चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारी गरेको बुझिएको छ।

भागबण्डाको विषयमा रवि लामिछानेसँग सहमति हुन नसकेपछि बालेनले आफ्नै नेतृत्वमा पार्टी अगाडि बढाउने चाहना व्यक्त गरेका छन्। लोकप्रिय अनुहारहरू, सामाजिक सञ्जालमा प्रभावशाली व्यक्तित्व तथा जनताबीच परिचित अनुहारहरूलाई समेट्दै अघि बढ्ने रणनीतिमा उनी छन्।

बालेनसँग सहकार्य गर्न विभिन्न चर्चित व्यक्तित्वदेखि जेन–जी (Gen Z) का अगुवासमेत इच्छुक देखिएका छन्। बालेनले पार्टी खोलेसँगै उनीहरूसँग मिलेर अघि बढ्ने तयारी भइरहेको बताइएको छ। धेरै जेन–जी अगुवाहरूको ध्यान अहिले बालेनतर्फ केन्द्रित भएको देखिन्छ।

‘देश विकास पार्टी’को नामबाट चुनाव लड्ने तयारी गर्दै समानुपातिकतर्फका उम्मेदवारको सूची संकलन गर्ने काम पनि भइरहेको बालेननिकट स्रोतले जनाएको छ। प्रत्यक्ष निर्वाचन कसरी लड्ने र आगामी रणनीति के हुने भन्ने विषयमा बालेन निरन्तर परामर्शमा छन्।

यसक्रममा उनले डा. भगवान् कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, सरसफाइ तथा युवा अभियन्ता केपी खनाल, जेन–जी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्व सचिव भीम उपाध्याय, पूर्व विवेकशील साझा पार्टीका नेता मिलन पाण्डे, कलाकार निश्चल बस्नेत, पत्रकार ऋषि धमला, सञ्चार उद्यमी कैलाश सिरोहिया तथा सञ्चारकर्मी सुरजसिंह ठकुरीसँग समेत छलफल गरेको बुझिएको छ।

बालेन शाह ‘देश विकास पार्टी’मार्फत जनतामाझ जाने तयारीमा छन्। हाल उक्त पार्टीकी अध्यक्ष सन्ध्या खनाल रहेकी छन्। यसअघि इन्जिनियर अनन्तराज घिमिरेको नेतृत्वमा रहेको ‘हाम्रो नेपाली पार्टी’लाई अद्यावधिक गरी ‘देश विकास पार्टी’ बनाइएको हो। सो पार्टीको चुनाव चिह्न ‘लौरो’ नै कायम गरिएको छ।

काठमाडौं महानगरपालिकाको मेयर पदको निर्वाचन बालेनले यही ‘लौरो’ चुनाव चिह्नबाट जितेका थिए, जुन चिह्न निकै चर्चित बनेको थियो। यही चुनाव चिह्न पाएका धरान उपमहानगरपालिकाका स्वतन्त्र मेयर हर्क साम्पाङले पनि ‘श्रम संस्कृति पार्टी’ गठन गरिसकेका छन्।

यसअघि बालेन र हर्क साम्पाङबीच सहकार्यको चर्चा चले पनि, जेन–जी आन्दोलनपछि बन्ने सरकारमा बालेन प्रधानमन्त्री नबनेको कारण देखाउँदै हर्क साम्पाङले अलग पार्टी गठन गरेको बताइएको छ।