Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेको क्रेजले ओली बेचैन, देउवासँग हातेमालोको संकेत

रवि लामिछानेको क्रेजले ओली बेचैन, देउवासँग हातेमालोको संकेत

काठमाडौँ । रवि लामिछानेको क्रेज अहिले यति बढेको छ कि सबै पार्टी एकीकृत हुँदा पनि रास्वपाकै माहोल बढी देखिएको स्पष्ट बुझिन्छ। हालै कारागारबाट झन्डै एक वर्षपछि बाहिरिएसँगै उनी फेरि चर्चाको केन्द्रमा आएका छन्। जेन–जी पुस्तासमेत उनीसँग एकीकृत भएर आउने देखिएको छ भने कतिपयले त सुटुक्क रास्वपामा प्रवेशसमेत गरिसकेका छन्।

रवि लामिछानेको प्रभावलाई सामान्य रूपमा नलिएका ठूला दलहरू—जसले गत चुनावमा २१ सिट गुमाएका थिए—अहिले रास्वपालाई कसरी पछाडि पार्ने भन्ने रणनीतिमा लागिरहेका छन्। विश्लेषकहरूका अनुसार एमाले र कांग्रेस रास्वपासँग जुध्न गठबन्धन बनाउने तयारीसम्ममा जुटिरहेका छन्। अहिले सबैलाई नयाँ शक्तिकै डर देखिएको छ।

नयाँ वैकल्पिक भनिएका दलहरू पनि रास्वपासँग सहकार्य गर्न तयार देखिन्छन्। रेशम चौधरीले त हिजै रवि लामिछानेसँग मिल्न आफू तयार रहेको बताएका छन्। उता, बालेन साह र रवि लामिछानेबीच पाँच घण्टा लगातार वार्ता भई एउटै गाडीमा बाहिरिएपछि बालेन–रवि मिलनको चर्चा चुलिएको छ। यदि बालेन र रवि मिले भने एमाले र कांग्रेसलाई नै सबैभन्दा ठूलो चुनौती हुने देखिन्छ।

प्रचण्डले नेकपा बनाउँदा नयाँ शक्ति यसरी मिल्न सक्ने आकलन पहिल्यै गरेका थिए। त्यसैअनुसार उनले विभिन्न कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गरेका थिए। अहिले प्रचण्ड पनि चुनावी माहोलमा होमिन लागेका छन्। हिजो पहिलोपटक सुशिला कार्की प्रधानमन्त्री बनेपछि ओली, प्रचण्ड र देउवाले राष्ट्रपति निवासमा भेट गरी चुनावमा जाने विषयमा सकारात्मक संकेत दिएका थिए। त्यससँगै तीन नेताबीच गोप्य वार्ता पनि भएको बताइन्छ।

रवि लामिछाने छुटेसँगै यी तीन नेताबीचको वार्तालाई कतिपयले फरक ढंगले विश्लेषण गरिरहेका छन्। रवि र बालेन मिलेको खण्डमा आफूहरूले के गर्ने भन्ने विषयमा उनीहरू छलफलमा जुटेको आकलन गरिएको छ। ओली र देउवा यस विषयमा पटक–पटक भेट्दै आएका छन्, तर प्रचण्डसहितको यो भेट उनीहरूको पहिलो हो।

अब उनीहरू नयाँ शक्तिसँग प्रत्यक्ष भिड्नुपर्ने अवस्था देखिएको छ। बालेन साह झापाबाट ओलीसँगै चुनाव लड्ने योजनामा रहेको खबरले ओलीको चिन्ता बढाएको छ। यदि बालेन झापामा ओलीसँग भिडे भने ओलीले अर्को क्षेत्र रोज्ने कि सिधै प्रतिस्पर्धा गर्ने भन्ने प्रश्न उठेको छ।

यदि बालेन र रवि नमिले पनि, बालेनले ओलीसँग चुनाव लड्ने अवस्था आएमा रास्वपाले आफ्ना उम्मेदवार नउठाई बालेनलाई समर्थन गर्ने रणनीति बनाउन सक्ने चर्चा छ। त्यति मात्र होइन, रवि लामिछाने स्वयं बालेनका लागि भोट माग्न जाने सम्भावनासमेत देखिन्छ।

हाल रवि र बालेनका प्रमुख राजनीतिक प्रतिस्पर्धीका रूपमा ओलीलाई हेरिएको छ। दुवैको लक्ष्य ओलीलाई पराजित गर्नु रहेको बताइन्छ। एमालेले फेरि ओलीलाई प्रधानमन्त्री बनाउने उद्देश्यसहित चुनावमा जाने तयारी गरिरहेको छ। महाधिवेशन जितेका ओली अब चुनावलाई कसरी आफ्नो पक्षमा पार्ने भन्ने योजनामा छन्, तर उनको सबैभन्दा ठूलो तगारो रास्वपा बनेको छ।

कारागारमुक्त भएपछि रवि लामिछानेले पटक–पटक ओलीप्रति कटाक्षपूर्ण अभिव्यक्ति दिँदै आएका छन्। यस अवस्थालाई हेर्दा, ओली, देउवा र प्रचण्ड तीनै नेताका लागि सबैभन्दा ठूलो टाउको दुखाइ अब रवि लामिछाने नै बन्ने स्पष्ट देखिन्छ।