Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

वीरेन्द्रनगरमा बोक्सीको आरोपमा महिलामाथि यातना, चार जना पक्राउ

वीरेन्द्रनगरमा बोक्सीको आरोपमा महिलामाथि यातना, चार जना पक्राउ

काठमाडौँ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमै अन्धविश्वासका कारण एक महिलामाथि अमानवीय व्यवहार गरिएको घटना बाहिर आएको छ। वीरेन्द्रनगर नगरपालिका–१२ मा बस्दै आएकी एक महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट र यातना दिएको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पीडितको जाहेरीका आधारमा सोही स्थानमा बसोबास गर्ने २१ वर्षीया बन्दना बोहरा, २० वर्षीया रिता बुढा, २१ वर्षीय जयबहादुर रोकाय र १८ वर्षीया अनिता बोहरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए। पक्राउ परेकाहरूको स्थायी ठेगाना जुम्लाको तिला गाउँपालिका–२ रहेको बताइएको छ।

प्रहरीका अनुसार आरोपितहरूले पीडितलाई बोक्सी भन्दै गालीगलौज गर्नुका साथै धामी–झाँक्री बनेर कुटपिट गरेका र तातो पन्यू प्रयोग गरी शरीरका विभिन्न भागमा डामेको उजुरी परेको छ। लामो समयदेखि भइरहेको दुव्र्यवहार सहन नसकेपछि पीडित न्यायका लागि प्रहरीसमक्ष पुगेकी हुन्।

पक्राउ परेकाहरूविरुद्ध जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरी बोक्सीको आरोपसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।