Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मधेस प्रदेश सभाका नयाँ सभामुख यादवले लिए पदभार, निष्पक्ष भूमिका निर्वाह गर्ने प्रतिबद्धता

मधेस प्रदेश सभाका नयाँ सभामुख यादवले लिए पदभार, निष्पक्ष भूमिका निर्वाह गर्ने प्रतिबद्धता

काठमाडौँ । मधेस प्रदेश सभाको नेतृत्व सम्हाल्दै नवनियुक्त सभामुख रामअशीष यादवले आज औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। जनकपुरधामस्थित प्रदेशसभा कार्यालयमा आयोजित कार्यक्रममा उनले आफू कुनै दलको प्रतिनिधि नभई सम्पूर्ण सभाको साझा अभिभावकका रूपमा काम गर्ने स्पष्ट पारे।

सभामुख यादवले राजनीतिक दलहरूबीच संवाद र सहकार्यलाई प्राथमिकता दिने बताउँदै मतभेद भए पनि सहमति र समन्वय अनिवार्य हुने धारणा राखे। प्रदेशको हितलाई केन्द्रमा राख्दै सबै दलसँग मिलेर अघि बढ्ने उनले जनाए।

समावेशिता, सुशासन, शिक्षा–स्वास्थ्यको पहुँच, रोजगारी सिर्जना र सीमावर्ती क्षेत्रका समस्या मधेस प्रदेशका मुख्य मुद्दा भएकाले तिनलाई संसदीय कार्यसूचीमा प्राथमिकताका साथ उठाइने उनले बताए। साथै, कार्यपालिकामाथि प्रभावकारी निगरानी, बजेट कार्यान्वयन, सार्वजनिक खर्चको पारदर्शिता र सेवाप्रवाह सुधारमा प्रदेश सभा सशक्त हुनुपर्नेमा उनले जोड दिए।

सभामुख यादवले संविधान, कानून र संसदीय नियमावलीको पालना गर्दै सभालाई उत्तरदायी, मर्यादित र लोकतान्त्रिक ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सांसदहरूलाई अनुशासन, समयपालन र स्वस्थ बहस संस्कृतिमा योगदान गर्न आग्रह गरेका छन्।