Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेस–एमाले सरकारविरुद्ध किन सर्वाेच्च जाँदैछन् ?

कांग्रेस–एमाले सरकारविरुद्ध किन सर्वाेच्च जाँदैछन् ?

काठमाडौं । कांग्रेस र एमालेले जेनजी आन्दोलनका उपलब्धि शून्यमा पुगेको निष्कर्ष निकाल्दै सर्वोच्च जाने तयारी गरेका छन् ।

बहुमत सदस्यको हस्ताक्षरसहित उनीहरु सर्वोच्च जाने तयारीमा जुटेका हुन् । एमालेले संस्थागत निर्णय गरेको छ भने कांग्रेसका पनि बहुमत सदस्यले हस्ताक्षर गरेका छन् ।

ती पार्टीका पूर्व प्रमुख सचेतकहरु श्यामकुमार घिमिरे र महेश बर्तौलाले जेनजी आन्दोलनका उपलब्धि शून्यमा पुगेका कारण संसद् पुनःस्थापनाका लागि सर्वोच्च जाने तयारीमा जुटेको बताएका हुन् ।

उनीहरुले फागुन २१ मा चुनाव भए पनि नियमितिको साटो मध्यावधि बाहेक कुनै उपलब्धि नहुने बताएका हुन् । संसद् पुनःस्थापना गरी निश्चित समय वैधानिक सरकार र वैधानिक संसद्बाट संविधान संशोधन गर्दा आन्दोलनका उपलब्धि संस्थागत हुने उनीहरुको तर्क छ । 

संसद् विघटनविरुद्ध सर्वोच्चमा रिट लिएर गएका उनीहरुले यही अवस्थामा चुनावमा जाँदा जेनजी आन्दोलन, नेपालको संविधान र लोकतन्त्र एकसाथ जोखिममा हुने उनीहरुको तर्क छ । 

“अहिलेकै अवस्थामा निर्वाचनमा जाने हो भने त्यो फगत मध्यावधि चुनाव बाहेक केही हुँदैन,” विघटित संसद्मा कांग्रेसका प्रमुख सचेतक रहेका घिमिरेले भने, “जेनजी प्रदर्शनको म्यान्डेट असंवैधानिक शासन भन्ने थिएन । उनीहरुले त सुशासनको नारा लिएर प्रदर्शन गरेका थिए ।” 

उनका अनुसार संसद् असंवैधानिकरुपमा संसद् विघटन भएको थियो । “असंवैधानिक व्यक्तिको नेतृत्वमा सरकार छ । यो सरकारले चुनाव गराउनेबाहेक अर्को म्यान्डेट पाएको छैन । यसले चुनाव गराउने लक्षण पनि छैन,” उनले भने ।
उनले नियमित प्रशासनमै सरकार चुकिरहेको भन्दै भागेका आपराधिक पृष्ठभूमिका कैदीबन्दी, लुटिएका हतियार फिर्ता गर्न नसक्नुले सरकार निर्वाचनको वातावरण निर्माणमा असफल भएको उनको भनाइ छ । 

“आपराधिक पृष्ठभूमिका कैदीबन्दीहरु फरार अवस्थामा छन् । लुटिएको हतियार अझै पाँच–सात सयको संख्यामा सरकारको राडार भन्दा बाहिर छ,” घिमिरेले भने, “उमेदवारहरु ढुक्क भएर आफ्नो निर्वाचन क्षेत्रमा जाने वातावरण बनेको छैन । पार्टीको चुनाव प्रचारमा निस्कनुपर्ने कतिपय नेताहरुलाई स्थानहद लगाएको अवस्था छ ।” 

उनले वर्तमान सरकारले चुनाव गराउन नसक्ने र चुनाव गराइहाले पनि त्यसको वैधानिकतमा प्रश्न उठ्ने अवस्था रहेको बताए । 

“संविधानले प्रतिबन्धित गरेको व्यक्तिको नेतृत्वको असंवैधानिक सरकारले गराउने चुनावको वैधानिकतामा भोलि प्रश्न उठ्यो भने देशको अर्बौं क्षति बालुवामा पानीसरह हुन्छ,” घिमिरेले भने, “त्यसकारण पहिला संसद् पुनःस्थापना गरेर वैधानिक सरकार गठन गरी संसद्बाट संविधान संशोधन गर्दै निर्वाचनमा जानुको विकल्प छैन ।”

नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौला भोलि आउन सक्ने वैधानिकताको संकट टार्नकै लागि संसद् पुनःस्थापना आवश्यक भएको तर्क गर्छन् । 

उनको बुझाइमा अहिले संसद् पुनःस्थापना भए पनि त्यसले बनाएको सरकारले ‘अर्लि इलेक्सन’ कै निर्णय गर्ने छ । 

“अहिले पुनःस्थापित हुने संसद् ०८४ सम्मका लागि होइन । यो संसद् पुनःस्थापना भएपछि यसले दुईवटा काम गर्ने छ,” बर्तौलाले भने, “एउटा वैधानिक सरकार दिने छ । अर्को संविधानले नै पुनरवलोकन बनेको र जेनजी प्रदर्शनबाट उठेको आवाज सम्बोधन हुने गरी संविधानमा संशोधन गर्ने छ । त्यसपछि अर्लि इलेक्सनमै जाने हो ।” 

उनले अहिलेको सरकारले संविधान संशोधनसहित कानुनमा पनि आमुल परिवर्तनको हैसियत नराख्ने उनको भनाइ छ ।