काठमाडौँ । भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई प्रहरीले लागु औषधसहित नियन्त्रणमा लिएको छ। शनिबार बढैयाताल गाउँपालिका क्षेत्रमा शंकास्पद गतिविधि देखिएपछि गरिएको चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–५ का ४१ वर्षीय दिनेश कुमार थारु र बाँसगढी नगरपालिका–३ सुन्दरबस्तीका २८ वर्षीय कृष्णा खत्री रहेका छन्। प्रहरीका अनुसार थारुको साथबाट ४ सय ६० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो रंगको धुलो पदार्थ र खत्रीको साथबाट १० ग्राम ८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो रंगको गिलो पदार्थ फेला परेको हो।
दुवै जनालाई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी थप अनुसन्धान भइरहेको डीएसपी देवेन्द्र कुमार मल्लले जानकारी दिएका छन्।