काठमाडौँ । हेटौंडा उपमहानगरपालिका–९ प्रगति चोकस्थित पूर्व–पश्चिम सडकखण्डमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन्। बिहान करिब ९:४५ बजे हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ज ०१११ नम्बरको ईभी गाडीले विपरीत दिशाबाट आएको बा.प्र.०३–००६ प ९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्करपछि ईभी गाडीले पुनः विपरीत दिशाबाट हेटौंडातर्फ आउँदै गरेको बा १७ च ४२७२ नम्बरको स्कार्पियो पिकअपलाई समेत ठोक्किँदा तीनवटै सवारी साधनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। घाइते सबैको अवस्था सामान्य रहेको छ।
हेटौंडा अस्पतालमा उपचाररत ईभीमा सवार हेटौंडा–४ की ३७ वर्षीया सरस्वती राणाको बायाँ हातमा चोट लागेको छ। स्कार्पियोमा सवार भोजपुर षडानन्द नगरपालिका–१० का ६६ वर्षीय हेमसाङ तामाङको टाउकोमा र उनकी पत्नी ५९ वर्षीया राजकुमारी तामाङको दुवै खुट्टामा चोट लागेको छ।
त्यस्तै, मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको ईभी चालक हेटौंडा–१५ रातोमाटेका २५ वर्षीय सुमन लामा घटनास्थलमै बेहोस भए पनि अस्पताल पुर्याएपछि होसमा आएका थिए। ईभीमै सवार मकवानपुरगढी गाउँपालिका–५ का ७८ वर्षीय टीकाप्रसाद तिमिल्सिनाको निधारमा चोट लागेको छ।
स्कुटर चालक हेटौंडा–९ का ३९ वर्षीय दीपक रुम्बा दाहिने खुट्टामा चोट लागेर घाइते भएका छन् भने पछाडि सवार उनकी ५ वर्षीया छोरी ग्रेसी रुम्बाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।