काठमाडौँ । गएराति सर्केगाड गाउँपालिका–४ स्थित सर्केगाड बजारमा भिरबाट खसेको ढुङ्गाले एक घरमा क्षति पुर्याउँदा घरभित्र रहेका चार जना घाइते भएका छन्।
स्थानीय दनबहादुर रावतको दुई तले कच्ची घरमाथिबाट अचानक ढुङ्गा खस्दा भाडामा बस्दै आएकी २८ वर्षीया सरिता विकसहित चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी शङ्कर खड्काले जानकारी दिए। घाइतेमध्ये सरिता विक सर्केगाड गाउँपालिका–८ राहदेउ घर भई हाल सर्केगाड–४ मा बस्दै आएकी हुन्। त्यस्तै, सर्केगाड–४ रायागाउँकी २१ वर्षीया लालसरा विक, उनकी छ वर्षीया छोरी रेविका तथा सर्केगाड–८ की प्रवीणा विक पनि घाइते भएका छन्।
प्रहरीका अनुसार सरिता विकको दाहिने गाला र हातमा चोट लागेको छ र उनको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ। लालसराको टाउकोमा, उनकी छोरीको निधारमा तथा प्रवीणाको टाउकोमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको बताइएको छ।
सूचना अधिकारी खड्काका अनुसार घरमाथिको वन क्षेत्रबाट राति ढुङ्गा खसेको हो। सरिताको अवस्था स्वास्थ्य चौकीमा उपचार गर्न नसकिने देखिएपछि जिल्ला अस्पताल पठाइएको र अन्य तीन जनाको सामान्य उपचारपछि घर फर्काइएको छ।
स्थानीयवासीका अनुसार सो बस्तीमाथि भिरालो वन क्षेत्र रहेकाले ढुङ्गा खस्ने जोखिम निरन्तर रहँदै आएको छ। यसअघि पनि पटक–पटक ढुङ्गा खस्ने घटना भएको स्थानीय प्रकाश शाहीले बताए।