काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ आज सर्वोच्च अदालतमा तय भए पनि अन्ततः स्थगित भएको छ।
युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि दायर गरेको रिट निवेदनमाथि आज पेसी तोकिएको थियो। महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको विषय कानुनविपरीत रहेको दाबी गर्दै पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
महान्यायाधिवक्ता कार्यालयले २०७९ चैत ६ गते लामिछानेविरुद्ध मुद्दा चलाउन आवश्यक नरहेको निष्कर्ष निकालेको थियो। यसअघि प्रहरी र सरकारी वकिल कार्यालयले पनि राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए।
पौडेलले अमेरिकाको नागरिकता कायम रहँदै आफूलाई नेपाली नागरिक घोषणा गरी राहदानीका लागि आवेदन दिनु राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीतको कार्य भएको जिकिर गरेका छन्। यस्तो अवस्थामा पनि महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गर्नु पूर्वाग्रही र दुराग्रहपूर्ण रहेको उनको दाबी छ।
त्यस्तै, राहदानी प्राप्त गर्दा लामिछानेको आपराधिक मनसाय नरहेको निष्कर्ष महान्यायाधिवक्ताले आफ्नो अधिकारक्षेत्रभन्दा बाहिर गएर निकालेको पनि पौडेलले रिटमा उल्लेख गरेका छन्।