Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अवैध चिनियाँ सामान बोकेको गाडी सहित चालक पक्राउ

अवैध चिनियाँ सामान बोकेको गाडी सहित चालक पक्राउ

काठमाडौँ । बिलबिजक र भन्सार प्रज्ञापनपत्रविनै चिनियाँ सामान ओसारपसार भइरहेको अवस्थामा सशस्त्र प्रहरी बलले एक जनालाई नियन्त्रणमा लिएको छ। बाह्रबिसे नगरपालिका–४ क्षेत्रबाट एक आइचर गाडीसहित चालक पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लामोसाँघुबाट खटिएको टोलीले बाह्रबिसे नगरपालिका–६ का शिवलाल तामाङलाई नियन्त्रणमा लिएको केन्द्रीय प्रवक्ता नायब महानिरीक्षक मनिष थापाले जानकारी दिए। तातोपानीबाट खाडिचौरतर्फ आउँदै गरेको बा ४ ख ५८६४ नम्बरको आइचर गाडी जाँच गर्दा आवश्यक कागजात नपाएपछि कारबाही गरिएको हो।

बरामद सामानमा स्टेसनरी, खेलकुद सामग्री र विभिन्न किराना सामान रहेका छन्। सामानको अनुमानित मूल्य ७ लाख २२ हजार १० रुपैयाँ र गाडीको मूल्य १५ लाख रुपैयाँ गरी कुल २२ लाख २२ हजार १० रुपैयाँ बराबरको रहेको जनाइएको छ।

नियन्त्रणमा लिइएका तामाङ, बरामद सामान र गाडी आवश्यक कारबाहीका लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।