Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हाइकिङकै क्रममा मुटुमा समस्या, भारतीय राजदूत श्रीवास्तवको स्वास्थ्य सुध्रँदै

हाइकिङकै क्रममा मुटुमा समस्या, भारतीय राजदूत श्रीवास्तवको स्वास्थ्य सुध्रँदै

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। चम्पादेवी डाँडामा हाइकिङ गरिरहेका बेला छातीमा तीव्र दुखाइ भएपछि उनलाई आकस्मिक रूपमा उद्धार गरी अस्पताल भर्ना गरिएको थियो।

चिकित्सकका अनुसार दिउँसो करिब साढे १ बजे छाती दुख्ने समस्या देखिएपछि अवस्था गम्भीर बन्दै जाँदा नेपाली सेनाको हेलिकप्टरमार्फत ४ बजे ग्रान्डी इन्टरनेसनल अस्पताल ल्याइएको थियो। प्रारम्भिक उपचार र थप परीक्षणपछि उनलाई हृदयघात भएको पुष्टि भएको हो।

अस्पताल स्रोतका अनुसार मुटुको देब्रे नशामा अवरोध देखिएकाले तत्काल एन्जियोग्राफी गरी स्टेन्ट राखेर ब्लकेज हटाइएको थियो। अस्पताल आइपुग्दा राजदूत श्रीवास्तव होसमा रहेको र समयमै उपचार सम्भव भएको चिकित्सकले जनाएका छन्।

हाल उनी आईसीयूमा निगरानीमा उपचाररत छन्। स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेकाले केही दिनपछि सामान्य वार्डमा सार्ने तयारी भइरहेको अस्पतालले जनाएको छ। मुटुका अन्य नशामा देखिएको अवरोधलाई आवश्यकताअनुसार थप उपचार गरिने पनि चिकित्सकले बताएका छन्।