काठमाडौँ । हराएको भन्दै खोजीका लागि निवेदन दिएका श्रीमान नै श्रीमतीको हत्यामा संलग्न रहेको खुलेपछि संखुवासभामा सनसनी फैलिएको छ। मादी नगरपालिका–६ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पालाई आफ्नी श्रीमती मिना शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार मंसिर ९ गते श्रीमती हराएको भन्दै प्रेमले प्रहरीमा निवेदन दिएका थिए। अनुसन्धानको क्रममा उनकै गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले हत्या गरेको स्वीकारेका हुन्।
प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार मंसिर ९ गते राति करिब साढे १० बजे ओखरेबोटे बजारबाट घर फर्किँदै गर्दा दुवैबीच विवाद भएको र बाटोमै कुटपिट गरी हत्या गरिएको खुलेको छ। हत्या पछि शव आफ्नै अलैची बारीमा त्रिपालले बेरेर खाल्डो खनी गाडिएको बयान दिएका छन्।
इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक पर्शुराम राईको नेतृत्वमा खटिएको टोलीले शव उत्खनन गरेको थियो, जुन सडिसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धानका लागि प्रेम दोर्ची शेर्पामाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरिएको छ।