काठमाडौँ । बैतडीको पाटनस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र एक वर्षदेखि पशु चिकित्सकविहीन छ। करारमा कार्यरत विशाल पाठक गत मंसिरमा कर्णाली प्रदेशमा स्थायी पदमा गएपछि एक मात्र पशु चिकित्सकको दरबन्दी रिक्त रहँदा केन्द्रका सेवा प्रभावित भएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय मातहतको केन्द्रमा पशु रोग पहिचान, निदान, ल्याब परीक्षण, शल्यक्रिया र निरोगिता प्रमाणित गर्न सक्ने विशेषज्ञ सेवा उपलब्ध छैन। प्रमुख गुमानीदत्त पन्तका अनुसार, चिकित्सक नहुँदा खसी, बोका, भैंसी र राँगा निकासीको लागि आवश्यक प्रमाणिकरणसमेत गर्न नसकिएको छ।
हाल केन्द्रमा १२ दरबन्दीमध्ये १० रिक्त रहेका छन् र कामकाज दुई कर्मचारी—एक पशु विकास अधिकृत र एक प्राविधिक—द्वारा सीमित रूपमा सञ्चालन भइरहेको छ।