काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बारामा निर्माणाधीन दुधौरा पुल पुसभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण व्यवसायीहरूले बताएका छन्। लामो समयदेखि अलपत्र परेको पुलबारे बढ्दो गुनासोपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले शुक्रबार स्थलमै पुगेर निरीक्षण गरेका थिए।
मन्त्री घिसिङले निर्माण ढिलाइका कारण यात्रुहरू दिनहुँ सास्ती झेल्नुपरेको उल्लेख गर्दै विद्युत् लाइनका कारण काम रोक्न नहुने स्पष्ट निर्देश दिए। उनका अनुसार नजिकै रहेको ११ केभी लाइनले पुल निर्माणमा कुनै अवरोध गर्दैन।
ठेक्का पाएको महादेव खिम्ती–हिराचन उपक्रम (जेभी)का प्रतिनिधि तथा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पनि पछिल्लो म्यादअनुसार पुसभित्र पुल तयार पारेर सडक विभागलाई हस्तान्तरण गर्ने आश्वासन दिए।
९० मिटर लम्बाइको चार लेन कंक्रिट पुल निर्माणका लागि २०७५ असार २४ मा १७ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सुरुमा असार २०७८ भित्र सकिनुपर्ने पुलको म्याद फेरि थपिँदै अहिले पुसभित्र पूरा गर्न लक्ष्य राखिएको छ। हाल भौतिक प्रगति ८५ प्रतिशत पुगेको सडक विभागले जनाएको छ।