काठमाडौँ । रामपुर नगरपालिकाले रामपुर–५, रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याउँदै पाका पुस्ताको ज्ञान–अनुभवलाई संरक्षण र हस्तान्तरण गर्ने नयाँ पहल शुरू गरेको छ। मेयर रमणबहादुर थापाका अनुसार स्कुलको उद्देश्य ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक सक्रिय जीवन दिनुका साथै उनीहरूको सीप, संस्कार र सांस्कृतिक ज्ञान नयाँ पुस्तासम्म पुर्याउनु हो।
स्कुल निर्माणमा संघ, प्रदेश, स्थानीय तह तथा स्थानीय बासिन्दाको सहयोगसहित १ करोड २६ लाख रुपैयाँ खर्च भएको छ। नगरपालिकाले पाका पुस्ता बसेर दिन काट्न, सिप सिकाउन र उत्पादन गर्न सक्ने वातावरण तयार पारेको छ। उत्पादन गरिएका सामग्रीलाई बजारसम्म पुर्याउने जिम्मा नगरपालिकाको ‘उपप्रमुख कोसेली घर’ ले लिनेछ।
स्कुलमा धार्मिक प्रवचन, योग–ध्यान, परम्परागत सीप जस्तै बत्ती काट्ने, दुना–टपरी बनाउने लगायतका गतिविधि गराइनेछ। नगरपालिकाले सबै १० वडाका ज्येष्ठ नागरिकलाई निःशुल्क स्कुल बस सेवा मार्फत ल्याउने–लैजाने व्यवस्था मिलाएको छ। पहिलो चरणमा सेवा कालीगण्डकी करिडोर क्षेत्रका ज्येष्ठ नागरिकलाई उपलब्ध गराइनेछ।
भवन परिसरमा ज्येष्ठ नागरिक केन्द्र, आचार्य निवास, व्यायाम हल, आवास, स्वास्थ्य सेवा, तथा ढिकी–जाँतोजस्ता परम्परागत सामग्रीसमेत निर्माण गरिएको छ। दिवा खाजा, स्वास्थ्य जाँच, भजन–कीर्तन, सन्ध्याकालीन आरती लगायतका कार्यक्रम नियमित सञ्चालन गरिनेछ।
स्कुलको व्यवस्थापनका लागि बुद्धिप्रकाश रेग्मीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ। स्कुललाई ज्येष्ठ नागरिकमैत्री वातावरणमा सञ्चालन गर्दै पाएका पुस्ताको अनुभवलाई सुव्यवस्थित रूपमा सुरक्षित राख्ने लक्ष्य रहेको समितिले जनाएको छ।