काठमाडौँ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तत्कालीन प्रमुख भोलाप्रसाद थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मुद्दा दायर गर्दै प्रतिवादीविरुद्ध ११ लाख ११ हजार ८ सय ४४ रुपैयाँ बिगो कायम गरेको छ।
मुद्दा अनुसार, दाङको हरिगाउँ खानेपानी तथा सरसफाइ आयोजना २०८०/८१ का लागि आह्वान गरिएकोमा कम मूल्यमा कबोल गर्ने दियालो ड्रिलिङ प्रालिलाई भन्दा बढी मूल्यमा जयकाली ड्रिलिङ्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई ठेक्का लगाइएको पाइएको छ। अख्तियारले ठेकेदारसँग कर्मचारीको मिलेमतो भएको र बढी कबोल गर्ने कम्पनीलाई ठेक्का दिनका लागि आयोजना प्रक्रियामा अनियमितता भएको उल्लेख गरेको छ।
प्रतिवादीमध्ये डिभिजन कार्यालयका ५ जना कर्मचारीलाई एकमुष्ट बिगो कायम गरी सजाय मागदाबी गरिएको छ भने ठेकेदार शेखर शर्मालाई मुख्य कसुरदारसरह बिगो कायम गरी मुद्दा दायर गरिएको छ। अख्तियारले कम कबोल र बढी कबोलबीचको फरक रकम असुल गर्न पनि अदालतमा मागदाबी गरेको छ।