Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देशभर भन्सार सेवा ठप्प: नयाँ भन्सार ऐनविरुद्ध एजेन्टहरूको पेन डाउन आन्दोलन

देशभर भन्सार सेवा ठप्प: नयाँ भन्सार ऐनविरुद्ध एजेन्टहरूको पेन डाउन आन्दोलन

काठमाडौँ । देशभरका सबै भन्सार कार्यालयमा जाँचपासका सबै प्रक्रिया पूर्ण रूपमा ठप्प भएका छन्। भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा सुरु गरिएको पेनडाउन आन्दोलनका कारण भन्सार सेवामा व्यापक अवरोध आएको हो।

२०८२ मंसिर २१ गतेदेखि लागू भएको नयाँ भन्सार ऐनका केही प्रावधानविरुद्ध महासंघले विरोध जनाएको छ। महासंघका अनुसार ऐनले भन्सार एजेन्टको पेशागत अधिकार क्षीण गर्ने, वैध व्यापारलाई हतोत्साहित गर्ने र अन्तर्राष्ट्रिय व्यापार प्रक्रियालाई झन् जटिल बनाउने अवस्था सिर्जना गरेको छ।

महासंघले दण्डजरिवाना, इजाजतपत्र नवीकरण, निलम्बन प्रक्रिया, बैंक जमानत, कम्प्युटर प्रणालीमा युजर–आइडी व्यवस्थापन, इन्कुट–आउट नोट व्यवस्था लगायतका विषय ऐनमा व्यवस्थित गर्न आफूहरूले लगातार आग्रह गरे पनि लागू भएको ऐनमा अनावश्यक कडाइ र तजबीजी अधिकार थपिएको आरोप लगाएको छ।

उनले भन्सार स्वचालन प्रणालीको सर्भर समस्या, राजश्व भुक्तानीका झन्झट र क्वारेन्टाइन सेवालाई सरल नबनाइँदा जाँचपासमा निरन्तर ढिलासुस्ती हुँदै आएको बताए। बारम्बार ध्यानाकर्षण गराउँदा पनि विभागले समस्या समाधान नगरेको महासंघको आरोप छ।

पेनडाउन आन्दोलन आइतबार वीरगन्ज भन्सारबाट सुरु भएको थियो। सोमबार भैरहवा भन्सार पूर्ण रूपमा बन्द रह्यो भने मंगलबारदेखि देशभरका सबै भन्सार कार्यालयका सेवा ठप्प पारिएको महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेले बताए।

जाँचपास बन्द हुँदा मुलुकभरको राजस्व असुलीमा प्रत्यक्ष प्रहार परेको छ। माग पूरा नभए मंगलबार नै थप कडा आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको महासंघले जनाएको छ।