काठमाडौं । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे अदालत अवहेलना मुद्दामा निर्दोष ठहरिएका छन्। उनीविरुद्ध दायर भएको अवहेलना मुद्दामा सर्वोच्च अदालतले सोमबार सफाइ दिएको हो। न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको इजलासले घिमिरेमाथि लगाइएको आरोप प्रमाणित नहुने ठहर गर्दै सफाइ आदेश जारी गरेको छ।
यो उजुरी सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले दर्ता गरेका थिए। बार अध्यक्षका रूपमा गोपालकृष्ण घिमिरेले ११ असोजमा न्यायपरिषद् नियमावलीसम्बन्धी संवैधानिक प्रश्न उठाउँदै तत्कालीन प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठबारे सार्वजनिक टिप्पणी गरेका थिए। सो टिप्पणी अदालतप्रतिको जनविश्वास घटाउने प्रकारको भएको भन्दै अवहेलना दाबीसहित मानहानीको निवेदन परेको थियो।
तर सर्वोच्च अदालतले मुद्दाको सुनुवाइपछि घिमिरेको अभिव्यक्ति अदालत अवहेलनाको दायरामा नपर्ने निष्कर्ष निकाल्दै उनीविरुद्धका आरोप टुंग्याएको छ।