काठमाडौँ । सुनसरीमा सिटी सफारी (रिक्सा) चालक दिनेशकुमार चौधरीको हत्या प्रकरणमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ। गत असोज २५ गते रामधुनी–२, कर्मनिया टोलको भित्री सडकमा चौधरीलाई गोली हानी हत्या गरिएको थियो।
पक्राउ हुनेहरूमा रामधुनी–१ का राजकिशोर साह (४३) र नन्दकिशोर साह (४०), राजविराज–१६ का अंकित साह (२८) र प्रिन्सकुमार दास (२८), भोक्राहा नरसिंह–५ का मोहम्मद इब्रान मिया (३४), देवानगञ्ज–४ का गियास मन्सुरी (३७) तथा देवानगञ्ज–५ का मिथिलेस यादव (२५) रहेका छन्। उनीहरूको पहिचान र पक्राउबारे जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेबेले जानकारी दिएका छन्।
हत्या अनुसन्धानका क्रममा प्राविधिक तथ्य, स्थानीयवासी र परिवारका बयान सङ्कलनपछि घटना योजनाबद्ध भएको प्रहरीले निष्कर्ष निकालेको छ। प्रारम्भिक तथ्यअनुसार चौधरीले तन्त्रमन्त्रका नाममा आफ्नो परिवारलाई लामो समयदेखि सताएको भन्दै रकम बुझाएर समूहगत रूपमा गोली प्रहार गराइएको खुल्न आएको छ।
सुनसरी र सप्तरीका विभिन्न स्थानबाट पक्राउ परेका आरोपीहरूले प्रारम्भिक सोधपुछमा संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ। उनीहरू विरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही हुँदैछ। सुनसरी जिल्ला अदालतले मंसिर १७ देखि १२ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।