Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुन–चाँदी व्यवसायलाई व्यक्तिगत खाता प्रयोगमा कडाइ, राजस्व विभागको नयाँ निर्देशन

सुन–चाँदी व्यवसायलाई व्यक्तिगत खाता प्रयोगमा कडाइ, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौँ । आन्तरिक राजस्व विभागले सुन, चाँदी तथा अन्य बहुमूल्य धातु–वस्तुका कारोबार गर्ने व्यवसायीलाई अबदेखि व्यक्तिगत बैंक खाताबाट कारोबार नगर्न कडाइका साथ निर्देश दिएको छ।

नवीन निर्देशन अनुसार सूचक संस्थाहरू अर्थात् बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायले सबै लेनदेन आफ्नै व्यवसायिक बैंक खातामार्फत मात्र गर्नुपर्नेछ। कर्मचारी, परिवारका सदस्य वा अन्य कसैको व्यक्तिगत खाता प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।

विभागका अनुसार एकपटकमा १० लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यका धातु वा बहुमूल्य वस्तु बिक्री गर्दा ग्राहक वा उनको परिवारका सदस्यको बैंक खाताबाटै भुक्तानी लिनुपर्ने व्यवस्था गरिएको छ।

यदि विद्युतीय भुक्तानी प्रणालीमा सीमा वा प्राविधिक समस्या रहने हो भने, उक्त कारोबार स्पष्ट रूपमा उल्लेख हुने गरी सुविधा विस्तार गर्न नेपाल राष्ट्र बैंकलाई अनुरोध गरिएको विभागले जनाएको छ।

निर्देशन उल्लंघनको अवस्थामा कानुनअनुसार कारबाही हुनेछ र एक करोड रुपैयाँसम्म जरिवाना लाग्न सक्ने चेतावनी पनि दिइएको छ।