काठमाडाैं । सर्लाहीमा बिरामी ढुवानीका लागि प्रयोग हुने एम्बुलेन्स नै गाँजा ओसारपसारमा प्रयोग भएको खुलासा भएको छ। हरिवनबाट प्रहरीले नियन्त्रणमा लिएको ज १ च १५५८ नम्बरको एम्बुलेन्सको पछाडिको भागमा बोराभित्र लुकाइराखिएको ५१ किलो ५ सय ग्राम गाँजा फेला परेपछि यो तथ्य बाहिर आएको हो।
नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता भएको एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले कारबाही अघि बढाएको थियो। घटनामा संलग्न रौतहटको यमुनामाई–४ निवासी ३७ वर्षीय चालक सुरेन्द्र राय यादवलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार बरामद गाँजाबारे थप अनुसन्धान जारी छ। यसअघि पनि शुक्रबार मात्र लालबन्दी–११, हीरापुरबाट प्रहरीले ५२ किलो गाँजासहित एक जनालाई पिकअप भ्यानसहित नियन्त्रणमा लिएको थियो।
सर्लाहीको चुरे क्षेत्रमा व्यवस्थित रूपमा गाँजा खेती हुने गरेको र त्यहाँ उत्पादित गाँजा भारततर्फ तस्करी गरिने गरेको प्रहरीले जनाएको छ।