काठमाडौं । परराष्ट्र मन्त्रालयमा हाजिर गराएर कामकाज गर्न फिर्ता बोलाइएका ११ मध्ये ६ जना राजदूतले राजीनामा दिएका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार राजीनामा दिएका सबै ६ जनाको राजीनामा सरकारले स्वीकृत गरिसकेको छ।
हालै रुसका लागि राजदूत जंगबहादुर चौहान र मलेसियाका लागि राजदूत डा. नेत्रप्रसाद तिमल्सिनाको राजीनामा आएको छ। यसअघिका अमेरिका स्थित लोकदर्शन रेग्मी, चीनस्थित कृष्णप्रसाद ओली, बेलायतका चन्द्रकुमार घिमिरे र कतारका रमेशचन्द्र पौडेलले पनि पद त्यागिसकेका छन्।
उनीहरूको कार्यप्रति प्रश्न उठाउँदै सरकारले असोज ३० गते ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। तर सो निर्णयविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले कात्तिक १६ मा अन्तरिम आदेश जारी गर्दै निर्णय कार्यान्वयन रोकिदिएको थियो।
अन्तरिम आदेशपछि सरकारले ‘मन्त्रालयमा हाजिर भई कामकाज गर्ने’ व्यवस्था गर्दै घुमाउरो तरिकाले उनीहरूलाई फिर्ता बोलाएको थियो।
बाँकी पाँच—शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), नरेशविक्रम ढकाल (साउदी अरब), शनिल नेपाल (स्पेन) र डा. दुर्गाबहादुर सुवेदी (जापान)—हाजिर गर्दै मन्त्रालयमै काम गरिरहेका छन्। उनीहरूले सर्वोच्चको मुद्दा टुंगो लागेपछि मात्र आफ्नो पदबारे निर्णय गर्ने बताएका छन्।