Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जेलबाट छुटेपछि पूर्व हवल्दारको हत्या गरेका बुद्धिराम दराई फेरि पक्राउ

जेलबाट छुटेपछि पूर्व हवल्दारको हत्या गरेका बुद्धिराम दराई फेरि पक्राउ

काठमाडौं। व्यक्ति हत्या गरेको अभियोगमा जेल बसिसकेका बुद्धिराम दराई फेरि अर्को हत्या प्रकरणमा संलग्न रहेको खुलासा भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चितवन रत्ननगर–६ का ४७ वर्षीय दराईलाई ४५ वर्षीया पूर्वप्रहरी हवल्दार सीता कँडेलको हत्या आरोपमा रुपन्देहीको नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो।

गत चैत ३१ मा लमजुङको भकुण्डेस्थित एक घरबाट दुर्गन्ध आउन थालेपछि प्रहरी पुगेको थियो। बाहिरबाट ताला लगाइएको घरभित्र, बक्स पलङको मुनि त्रिपालले बेरिएको अवस्थामा कँडेलको शव भेटिएको थियो। सोही घटनाको अनुसन्धान क्रममा दराईको संलग्नता प्रमाणित भएपछि उनी ८ महिनादेखि फरार रहेका थिए।

अनुसन्धानले दराई यसअघि पनि व्यक्तिहत्यामा दोषी ठहर भई कारागार बसेको पुष्टि गरेको छ। विवाहसम्बन्धी विवादका कारण उनले गोरखाकी ५३ वर्षीया चिनीमाया पाण्डेको हत्या गरेका थिए। भीमफेदी कारागारमै दराई र तत्कालीन हवल्दार सीता कँडेलबीच चिनजान र निकटता बढेको बताइन्छ।

जेलमुक्त भएको केही समयपछि उनले अवकाश प्राप्त कँडेलको हत्या गरेको सीआईबीले जनाएको छ। पक्राउ परेका दराईलाई लमजुङ प्रहरीमा बुझाई थप अनुसन्धान अघि बढाइएको छ।