Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

२६ दल यसपटक चुनाव बाहिर, दुई माओवादी र पाँच कम्युनिस्ट दलसमेत नलड्ने

२६ दल यसपटक चुनाव बाहिर, दुई माओवादी र पाँच कम्युनिस्ट दलसमेत नलड्ने

काठमाडौँ । आगामी प्रतिनिधिसभा चुनाव नजिकिँदै गर्दा निर्वाचन आयोगमा दर्ता भएका २६ राजनीतिक दलले प्रतिस्पर्धामा नउत्रिने निर्णय गरेका छन्। आयोगले प्राप्त गरेको सूचनाअनुसार चुनाव नलड्ने दलहरूमा दुईवटा ‘माओवादी’ नाम बोकेका पार्टीसहित पाँच कम्युनिस्ट दल छन्।

आयोगमा हालसम्म दर्ता दलको संख्या १४३ पुगेको छ। तीमध्ये ११७ दलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता निवेदन बुझाइसकेका छन्, जसको मूल्यांकन आयोगले गरिरहेको छ। बाँकी २६ दलले भने चुनावी उद्देश्यका लागि दर्ता निवेदन नै नदिएपछि उनीहरू स्वतः प्रतिस्पर्धाबाट बाहिरिएका छन्।

चुनाव नलड्ने दलहरू मध्ये माओवादी कम्युनिस्ट पार्टी नेपाल, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेपाल कम्युनिस्ट पार्टी परिवर्तन र नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) पाँच प्रमुख कम्युनिस्ट धारा हुन्।

त्यसैगरी चुरेभावर लोकतान्त्रिक पार्टी, आम आदमी पार्टी नेपाल, राष्ट्रिय समाजवादी पार्टी नेपाल, जनताको जनवादी पार्टी नेपाल, नेश्नलिस्ट पिपल्स पार्टी, नेपाल विवेकशील पार्टी, पुनर्जागरण पार्टी नेपाल लगायतका दल पनि प्रतिस्पर्धामा नउत्रिने सूचीमा परेका छन्।

यस्तै राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी, नेपाली ग्रिन्स पार्टी, मधेश तराई फोरम, आधुनिक नेपाल समाजवादी पार्टी, जनसेवा लोकतान्त्रिक पार्टी, नेपाल राष्ट्रवादी पार्टी, मधेशी जनअधिकार फोरम मधेश, शिव सेना नेपाल, नेपाल समाजवादी कांग्रेस, बहुजन समाज पार्टी नेपाल, जनराष्ट्रवादी पार्टी नेपाल, नेपा: राष्ट्रिय पार्टी, राष्ट्रिय एकता मञ्च र नेपालवाद समेत यसपटक चुनावमा सहभागी नहुने दलका रूपमा दर्ज भएका छन्।