काठमाडौँ । भक्तपुरको नलिनचोकमा निर्माण भएको हेलिपोर्टसम्बन्धी ठूला अनियमितता उजागर भएपछि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारी विशेष अदालतमा बयान दिन पुगेका छन्। दुवैजनामाथि थुनछेक प्रक्रिया अघि बढेको छ, जसपछि उनीहरूको थुनछेक बहस सुनुवाइ हुनेछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार अधिकारी र भण्डारीलाई पक्राउ गरी उनीहरूसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। तारेख बुझ्न अख्तियार कार्यालय आएका उनीहरूलाई त्यहीँबाट पक्राउ गरी सोही दिन विशेष अदालतमा मुद्दा दाखिला गरिएको हो।
अख्तियारले दायर गरेको अभियोगपत्रमा १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७७ पैसा बिगो समेत असुलउपर गर्नुपर्ने माग राखिएको छ। विशेष अदालतका अधिकारीहरूका अनुसार दुवैजनाको प्रारम्भिक बयान सम्पन्न हुँदैछ, जसपछि अदालतले थुनछेकबारे निर्णय लिनेछ।