काठमाडौँ। काठमाडौँ महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोविखोला करिडोरमा बारम्बार हुने दुर्घटनाले आक्रोशित स्थानीयले अन्ततः आफैँ पहल गर्दै रेलिङ जडान गर्न सुरु गरेका छन्। वर्षौंदेखि सडकको जोखिम बढ्दै गए पनि प्रभावकारी सुरक्षात्मक संरचना नबनेपछि स्थानीयले स्वयं टिन, रड र काठ प्रयोग गरेर अस्थायी रेलिङ तयार पार्न थालेका हुन्।

उता, यही क्षेत्रमा आज बिहान अर्को दुःखद घटना घटेको छ। रुद्रमति पुलनजिकै धोबी खोलामा साइकलसहित एक युवकको शव फेला परेको छ। जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार मृतक काभ्रेपलाञ्चोक मण्डनदेउपुर–१ का ललित गिरी रहेको पुष्टि भएको छ। घटनास्थलमा प्रहरी टोली परिचालन भएर अनुसन्धान अघि बढाइएको छ।

लगातार हुने दुर्घटना र सुरक्षा अभावलाई लिएर स्थानीयले अब महानगरलाई स्थायी रेलिङ तथा सुदृढ सुरक्षाको व्यवस्था तत्काल गर्न माग गरेका छन्।