Shares
Shares
काठमाडौं । नेपाली कांग्रेसमा लामो समयदेखिको विवाद सोमबार एकाएक हल गरियो ।
सभापति शेरबहादुर देउवाको निवासमा बसेको छलफलपछि निर्वाचनअघि कुनै पनि हालतमा महाधिवेशन नहुने अडानमा रहेका नेताहरु पनि एकाएक तयार भए ।
अनि केन्द्रीय समितिको बैठकबाट सर्वसम्मत निर्णय गरियो ।
सर्वसम्मत निर्णयको एउटा बुँदामा भनिएको छ–नेपाली कांग्रेसको विधानको धारा ४३ बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि २०८२ मंसिर २४ गतेदेखि लागु हुने गरी २०८२ माघ मसान्तसम्मका लागि थप गर्ने निर्णय गर्दछ र यो निर्णय निर्वाचन आयोगलाई जानकारी दिने ।”
जबकि कांग्रेसले पुस १६ गतेदेखि २६ गतेसम्म महाधिवेशनको कार्यतालिका पारित गरेको छ ।
त्यसो भए किन माघ मसान्तसम्म कार्यसमितिको म्याद थप गरियो त ? महामन्त्री विश्वप्रकाश शर्माको जवाफ थियो– कतिपय देशमा राष्ट्रपतिको चुनाव सकिएको दुई महिनापछि मात्रै कार्यभार सम्हाल्ने प्रचलन पनि छ । हामीले छलफल गर्दैगर्दा २–४ दिन लम्बिने अवस्था आयो भने भन्ने विचार गरेर माघको अन्तिमसम्म कार्यसमितिको म्याद थप गरेका हौँ ।”
सर्वसम्मतिले पारित गरेको कार्यतालिकामा पनि केही संशय बाँकी देखिन्छ । प्रवक्ता प्रकाशशरण महतले पनि आशंका व्यक्त गर्दै कांग्रेसको महाधिवेशन सम्बन्धी कार्यतालिकालाई ‘रकेट स्टाइल’ भनेका छन् ।
महामन्त्री शर्माका अनुसार अब कांग्रेसको पूरा ध्यान महाधिवेशनमा हुनेछ ।
“एक पन्थ दो काजमा कांग्रेस लाग्छ । पुसको १६ गते मेलमिलापको नीति लिँदै बीपी जसरी आउनुभएको थियो,” उनले भनेका छन्, “त्यही दिनमा सबै वडामा अधिवेशन सुरु भएर अन्तिममा सक्छौँ । निर्णय गर्नुपूर्व फरक फरक विचार थिए तर अहिले एक मतले निर्णय गरेका छौँ ।”
तर महामन्त्री गगन थापाले भने पार्टी निर्णयसँगै आफ्नो राय फरक तरिकाले राखेका छन् ।
उनले केन्द्रीय कार्यालयमा दर्ता गराएको रायमा सही नियत नदेखिए विशेष महाधिवेशन कसैले रोक्न नसक्ने उल्लेख छ ।
उनले अहिलेसम्म महाधिवेशन सम्बन्धी कामहरु रोकिए र रोक्न लगाइए बताउँदै भनेका छन्– हामीले करिब ४५ दिन खेर फालेका छौँ । यसबीचमा राष्ट्रिय राजनीतिमा हामीले सम्पन्न गर्नुपर्ने नेतृत्वदायी हस्तक्षेपकारी कार्यहरुबाट चुक्यौँ । हामी आन्तरिक कुरामा नअल्झिएको भए नयाँ खुलेका दलमा लागिरहेका मानिसहरु कांग्रेसप्रति आकिर्षत हुन्थे, जोडिन्थे । पार्टीभित्र र बाहिर नयाँ ऊर्जा सञ्चार भैसकेको हुन्थ्यो ।”
उनले ४५ दिनअघि नै हुँदैन र सम्भव छैन भनेर रोक्न लगाइयो तर अहिले एकाएक निर्णय गर्ने अवस्था कसरी आयो भनी प्रश्न पनि गरेका छन् ।
“महाधिवेशन गर्ने कुरा अब मूलतः नियतमा भर पर्दछ । जहाँबाट ४५ दिनअघि नै हुँदैन सम्भव छैन भनेर रोक्न कसरत भयो र अलमल्याइयो, अहिले ४५ दिनमा आएर हुन्छ भन्ने ठाउँमा सदनियतका साथ आइपुगेको हो ?,' थापाले भने,'यदी त्यसो हो र नियत ठिक भयो भनेमात्रै निर्धारित समयमा अधिवेशन सम्भव हुन सक्छ, नियत ठिक भएन भने कार्यकतालिकामा तोकिएको समयमा महाधिवेशन सम्भव छैन ।”
उनले पुस महिनाभित्र कार्यतालिका बमोजिम अधिवेशन नहुने देखिन आएमा विशेष महाधिवेशन गर्नेतर्फ लाग्नुपर्ने बताएका छन् ।
“यो कार्यतालिका सफलतापूर्वक कार्यान्वयन गर्न इमान्दारीपूर्वक काम गर्नेछु । यही होस् भन्ने कामना गर्दछु,” थापाले आफ्नो मत राख्दै भनेका छन्, “कथमकदाचित यो तलमाथि हुने भयो भने विधानले निर्दिष्ट गरे बमोजिम दर्ता भएको विशेष अधिवेशन पुस २८भित्रै गर्नेगरी लाग्नेछु ।”
त्यसैगरी विशेष महाधिवेशन पक्षधरले पनि बेलुका एक विज्ञप्ति जारी गर्दै आफूहरुको प्रस्ताव जीवित रहेको बताएका छन् ।
विज्ञप्तिमा उनीहरुले माघको अन्तिमसम्म समयावधि थप्नुको औचित्य पुष्टि गर्न चुनौती दिएका छन् ।
उनीहरुले पनि विज्ञप्तिमा समयमा महाधिवेशन हुन नसके विशेष महाधिवेशन कसैले रोक्न नसक्ने बताएका छन् ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209