Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेस नियमित महाधिवेशनको लागि देउवा तयार हुँदा गगनको आपत्ति

कांग्रेस नियमित महाधिवेशनको लागि देउवा तयार हुँदा गगनको आपत्ति

काठमाडौं । “माफ पाउँ सबैसँग बैठक सारेकोमा । गाली सबैलाई मलाई गर्नुस्, जसले गाली गर्न डिजर्ब गर्नुहुन्छ । जबसम्म सर्वसम्मत निर्णय गर्ने अवस्था बन्दैन । म बैठक सारिरहन्छु । म कार्यवाहक रहेसम्म,” नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार बोलाइएको बैठक पनि सारेपछि सामाजिक सञ्जालमा लेखे ।

जेनजी आन्दोलनको एक महिनापछि बसेको केन्द्रीय समितिको बैठकको एजेन्डा नै महाधिवेशनको मिति तय गर्ने थियो ।  तर त्यस एजेन्डामै निर्णय हुन नसकेपछि कांग्रेसले निर्वाचनमा सहभागी हुने निर्णय गर्दै कांग्रेसले त्यस बैठकलाई टुंग्याउँदै अर्को बैठक बोलायो ।

तर पनि दैनिकजसो बैठक सरेको सूचना निकाल्ने कांग्रेसको दैनिकी नै बनेको छ । पछिल्लो दिनमा सभापति शेरबहादुर देउवा आफैँ सक्रिय हुँदा पनि  निष्कर्ष भने निस्किन सकेको छैन । बैठकमा देउवाले नियमित अधिवेशन रोक्न नहुने धारणा राख्दै रोक्दा पार्टी फुटको अवस्थामा जाने बताइरहे पनि निर्णय भने हुन सकेको छैन ।

आइतबार बोलाइएको केन्द्रीय समितिको बैठक पनि फेरि सोमबारसम्मका लागि स्थगित गरिएको छ । शनिबार पनि देउवा निवासमा भएको छलफल निष्कर्षमा पुग्न नसकेको एक नेताले बताए । बैठकमा देउवाले पुसभित्रै महाविधेशन गर्न सकिने गरी कार्यतालिका ल्याउन भनेका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशन नगर्ने गरी जुनसुकै मितिमा महाधिवेशनको मिति तोकेर प्रक्रिया अघि बढाउन देउवाले सुझाव दिएका छन् । तर नियमित महाधिवेशनलगत्तै पार्टी चुनावमा होमिँदा त्यसले असर पुर्‍याउने भन्दै नेताहरु विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले विरोध जनाएका थिए ।

नियमित महाधिवेशन गर्दा विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिनुपर्ने सर्त संस्थापन पक्षको थियो । तर महामन्त्री गगन थापाले आफूले विशेष महाधिवेशन पक्षधरहरुलाई रोक्ने नसक्ने जवाफ दिएका थिए ।

“देश र प्रजातन्त्र संकटमा परेका बेला पार्टी विभाजित भएको सन्देश दिनुहुँदैन,” देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने, “पुस, माघको पहिलो सातासम्म जहिले हुन्छ महाधिवेशन गर्नुस् ।”

कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मासहितले नियमित महाधिवेशनको कार्यतालिका ल्याएर तत्काल प्रक्रिया प्रारम्भ गर्दा विशेष महाधिवेशन रोकिने र पार्टीलाई तलैबाट पुनरजागृत गर्दै ल्याउन सकिने बताएका थिए ।

महामन्त्री थापाले विशेष महाधिवेशन गरेर अर्को मंसिरमा नियमित महाधिवेशन गर्न सकिने धारणा राखेका थिए ।