Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पूर्व एआइजी विश्वराज पोखरेल रास्वपा प्रवेश

पूर्व एआइजी विश्वराज पोखरेल रास्वपा प्रवेश

काठमाडौँ । नेपाल प्रहरीका पूर्व एआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। उनलाई समेटेर पार्टी प्रवेश कार्यक्रम रास्वपा केन्द्रीय कार्यालयमा आयोजना गरिएको थियो।

रास्वपामा विभिन्न क्षेत्र, भूगोल र अभियानबाट नयाँ सदस्य प्रवेश गर्ने क्रम निरन्तर जारी छ। पार्टीका अनुसार, यो अभियानलाई “नयाँ पुस्ता र नयाँ सोचसहितको स्वच्छ राजनीतिप्रतिको जनविश्वास विस्तार गर्ने अभियानको रूपमा अघि बढाइएको हो।

अहिले रास्वपामा दैनिक नयाँ व्यक्तिहरू प्रवेश गरिरहेका छन् भने केही मात्रामा पार्टी छाड्नेहरू पनि रहेका छन्। केही समययता सुमना श्रेष्ठ, सन्तोष परियार, अनिल केशरी लगायतका नेताले पार्टी छाडिसकेका छन्।

पूर्व एआइजी पोखरेलको प्रवेशपछि पार्टीमा उत्साह बढेको बताइएको छ। पोखरेलका अनुसार, उनी आइजीपीका निर्विकल्प दावेदार थिए। तर तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अन्यायपूर्वक उनलाई रोकेर १७ महिना जूनियर धिरज प्रताप सिंहलाई आइजीपी बनाएको थियो। यसपछि पोखरेलले राजीनामा दिएका थिए।

यसअघि पनि नेपाली सेनाका पूर्व कर्नेल प्रद्युम्न पौडेल र सशस्त्र प्रहरी बलका पूर्व डीआइजी दुर्गा भट्टराई रास्वपामा प्रवेश गरिसकेका छन्।

सोही कार्यक्रममा सशस्त्र प्रहरी बलका पूर्व एसएसपी विश्वेश्वर थापा, अन्तर्राष्ट्रिय लायन्स क्लबका पूर्व गभर्नर र रेउकाई नेपालको पूर्व अध्यक्ष, महिला उद्यमी शोभा जोशी पनि पार्टीमा प्रवेश गरे।

हाल, पुराना दल छाडेर रास्वपामा जानेको क्रम बढ्दो देखिएको छ। पार्टीले वैकल्पिक शक्ति र नयाँ नेताहरूलाई सामेल गराउने रणनीति अघि सारेको छ।