Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उम्मेदवारी विवाद चर्किँदा ओली पक्षका नेताबाट इतर पक्षका नेता–कार्यकर्तामाथि आक्रमण

उम्मेदवारी विवाद चर्किँदा ओली पक्षका नेताबाट इतर पक्षका नेता–कार्यकर्तामाथि आक्रमण

काठमाडौँ । नेकपा एमालेको आसन्न ११औ महाधिवेशनका लागि प्रतिनिधि छनोटमा इतर पक्षबाट उम्मेदवारी आउन थालेपछि संस्थापन पक्ष आक्रामक बन्दै गएको छ। यसैक्रममा संस्थापन पक्षका कार्यकर्ताले एमाले जिल्ला सदस्य अनिल राजधामीमाथि आक्रमण गरेका छन्।

राजधामीले महाधिवेशनमा युवा तर्फका प्रतिनिधिको लागि उम्मेदवारी दिएका थिए। उनी इतर पक्ष नजिक मानिँदै आएका कारण उनीमाथि आक्रमण भएको बताइएको छ। संस्थापन पक्ष — अर्थात् अध्यक्ष केपी शर्मा ओलीलाई पुनः दोहोर्याउनुपर्ने समूह  इतर पक्षको गतिविधिप्रति असन्तुष्ट रहेको देखिन्छ।

पूर्व उपाध्यक्ष विद्या देवी भण्डारीको समर्थनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेललाई समेत संस्थापन पक्षले धम्की दिन थालेको बताइन्छ। पोखरेलले उम्मेदवारी घोषणा गरेपछि पोलिटब्युरो सदस्य महेश बस्नेतले सार्वजनिक रूपमै आक्रोश पोख्दै पोखरेललाई पार्टीबाटै बिदा लिन आग्रह गरेका छन्।

बस्नेतले पार्टीको एकतामा योगदान गर्न नसक्ने हो भने ‘सहर्ष बिदा’ लिनुपर्ने उल्लेख गर्दै लेखेका छन्,“एमालेका निम्ति आजको प्रश्न ‘कसले नेतृत्व दाबी गर्छ?’ होइन, ‘कसले पार्टी बचाउन सक्छ?’ हो।”

अहिले ओलीलाई पार्टी अध्यक्षबाट विस्थापित गर्ने उद्देश्यका साथ पोखरेल लागेको आरोप बस्नेतले लगाएका छन्। पूर्व उपाध्यक्ष एवं पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले आफ्नो सदस्यता नवीकरण नगरेपछि, उनी ओलीलाई हटाउने तयारीमै रहेको धारणा पनि निकालिएको छ। विद्या भण्डारीकै समर्थनमा पोखरेल उठेपछि संस्थापन पक्ष तेस्रो तहसम्म दबाबमा परेको देखिन्छ।

विद्याको पक्षमा लागेको भनेर अनिल राजधामीमाथि आक्रमण भएको हो। एमाले धरानको कार्यालय नजिकै हिजो बेलुका युवा संघ कोशी इन्चार्ज दिवस राई, धरान–१० का वडाध्यक्ष विवेक राई सहितको समूहले राजधामीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको स्रोतले जनाएको छ।

राजधामी र दिवस राई दुवैले महाधिवेशनमा युवा तर्फका प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए। स्रोतका अनुसार राजधामीलाई उम्मेदवारी फिर्ता लिने कागजमा जबर्जस्ती सही गराइएको छ। तर राजधामीले भने आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन्।

यसपटक मंसिर २७–२९ मा एमालेको ११ौँ महाधिवेशन हुँदैछ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वमा दुई प्यानल बन्ने सम्भावना उच्च रहेको नेताहरू बताउँछन्।विद्या–ईश्वर प्यानल बनेपछि पदाधिकारीका १५ वटा पदमा चुनाव त निश्चित देखिन्छ, त्यसमाथि महासचिवको प्रतिस्पर्धा पनि अत्यन्तै रोचक हुने अनुमान गरिएको छ।प्रतिनिधि छनोटसँगै पदाधिकारीका लागि नेताहरूले लबिइङ सुरु गरेका छन्। आकांक्षीहरूले अध्यक्ष ओलीसँग भेटेर आफू उठ्न चाहने पदबारे अनौपचारिक छलफल गरिसकेका छन्।

अहिले विद्या भण्डारीले केन्द्रमा मात्र नभई तल्ला कमिटीहरूमा पनि आफ्नो प्रभाव विस्तार गरिरहेकी छन्, जसका कारण संस्थापन पक्ष त्रसित रहेको एमाले स्रोतहरू बताउँछन्।