Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्रीलाई एमालेको सन्देश– अध्यक्ष ओलीलाई स्थानहद लगाएर चुनाव हुँदैन

प्रधानमन्त्रीलाई एमालेको सन्देश– अध्यक्ष ओलीलाई स्थानहद लगाएर चुनाव हुँदैन

काठमाडौँ- नेकपा एमालेका नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्थानहद तोक्ने विषयलाई अस्वीकार गर्दै यस्तो अवस्थाबाट चुनाव सम्भव नहुने बताए। पूर्वप्रधानमन्त्री तथा देशव्यापी लोकप्रियता भएका नेतामाथि स्थानहद लगाउन नहुने उनीहरूको धारणा छ।

बिहीबार प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा जान आग्रह गर्दै एमाले नेताहरूलाई बालुवाटारमा बोलाएकी थिइन्। सो भेटमा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, नेता महेश बर्तौला र सरकारका तर्फबाट प्रधानमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायत सहभागी थिए।

प्रधानमन्त्रीले वार्ता आह्वान गरेको विषयलाई एमाले नेताहरूले सम्बन्ध सुधार्न थालेको संकेतको रूपमा व्याख्या गरे पनि छलफलले कुनै ठोस निस्कर्ष निकालेन। संसद् पुनःस्थापना माग गर्दै अदालतदेखि सडकसम्म आन्दोलनमा उत्रिएको एमालेसँग यो संवादले तत्काल समाधान नदिएको उनीहरूको भनाइ छ।

नेता महेश बर्तौलाले अध्यक्ष ओलीमाथि स्थानहद तोक्नुपर्ने औचित्यबारे प्रश्न राख्दा कुनै स्पष्ट जवाफ नआएको बताए। उनका अनुसार, “यति ठूलो जनमत प्राप्त नेता भएको व्यक्तिलाई स्थानहद गरेर चुनाव सम्भव छैन।”

एमाले नेताहरूले पार्टीलाई सबैतिरबाट एक्ल्याउने प्रयास भइरहेको आरोप समेत लगाए। तर एमाले चुनावबाट भाग्ने पार्टी नभएको र लोकतान्त्रिक प्रक्रियामा जान तयार रहेको स्पष्ट पारे।