काठमाडौँ । आगामी निर्वाचनलाई लक्षित सुरक्षा तयारी अब औपचारिक रूपमा अघि बढेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालनका लागि आएको सरकारी सिफारिसलाई स्वीकृति प्रदान गरेका छन्, जसपछि निर्वाचन सुरक्षामा सेनाको संलग्नता सुनिश्चित भएको छ।
मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सेनाको भूमिका आवश्यक ठहर गर्दै सिफारिस राष्ट्रपतिसमक्ष पठाएको थियो। यसअघि मंसिर ४ को राष्ट्रिय सुरक्षा परिषद् बैठकले नै सेना परिचालनको प्रस्ताव मन्त्रिपरिषद्मा सकारात्मक सुझावसहित पुर्याएको थियो।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बिहीबार राष्ट्रपति पौडेलले उक्त सिफारिस अनुमोदन गर्दै निर्वाचनका लागि सुरक्षा संयन्त्र थप मजबुत बनाउने बाटो खोलेका छन्।