Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रचण्ड भन्छन् - प्रधानमन्त्री बन्ने रुचि छैन,मजदुरको छोरा हुँ, जनताको सेवा गर्छु

प्रचण्ड भन्छन् - प्रधानमन्त्री बन्ने रुचि छैन,मजदुरको छोरा हुँ, जनताको सेवा गर्छु

काठमाडौँ । आफूलाई प्रधानमन्त्री बन्ने कुनै रहर नभएको नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै उनले आफू सधैं किसान–मजदुरको छोरा र जनताको सेवकका रूपमा रहन चाहेको स्पष्ट पारेका हुन् ।

पार्टी नेता राजेन्द्र पाण्डेले आगामी निर्वाचनपछि दाहाललाई पुनः प्रधानमन्त्रीको रूपमा देख्न चाहेको धारणा राखेपछि जवाफमा दाहालले पदका लागि मरिहत्ते गर्ने आफ्नो स्वभाव नभएको बताएका हुन्।

‘मलाई अब प्रधानमन्त्री नै भएर मात्रै देशको काम गर्न सकिन्छ भन्ने लागेको छैन, प्रधानमन्त्री बन्ने त्यस्तो धेरै रुचि र त्यसको निम्ति मरिहत्ते गर्ने इच्छा पनि छैन,’ संयोजक दाहालले भने, ‘तर देशले माग्यो, जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने मेरो प्रकृति पनि होइन।’

गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले दाहलको काम र व्यक्तित्वको प्रशंसा गरेपछि भावुक हुँदै उनले आफूलाई भगवान नभई सेवकको रूपमा बुझिदिन आग्रह गरे।

‘उहाँले आफ्नो भावना व्यक्त गर्नुभयो, तर म भगवान होइन,’ दाहालले भने, ‘तपाईंहरूकै सेवाका निम्ति धेरै वर्षदेखि समर्पित एउटा सेवक हुँ, किसान–मजदुरको छोरा हुँ।’