काठमाडौं । रौतहटमा २५ वर्षीया तरिमा खातुनको हत्या गरी घरको पछाडि खाडलमा गाडिएको अवस्थामा प्रहरीले शव फेला पारिएको छ। उनी ब्रिन्दावन–९ निवासी मोहम्मद शेख आदिलकी श्रीमती हुन्। आदिल हाल साउदी अरबमा रोजगारीमा छन्।
डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार खातुनलाई बोरामा हालेर गाडिएको थियो र भुस्साले छोपेर नयाँ माटो नदेखिने प्रकारले लुकाइएको थियो। उनको टाउको र खुट्टामा चोट देखिएको छ, र घटनास्थलबाट चक्कुसमेत बरामद भएको छ।
घटना भएको पछि उनका ससुरा शेख अली मोहम्मदसहित परिवारका ८–९ सदस्य फरार भएका छन्। डेढ वर्षीय छोरा मोहम्मद आरिफ पनि उनीहरूसँगै हराइरहेका छन्।
प्रहरीले घरायसी विवाद तथा यौन सम्बन्धसँग जोडिएको विषयले घटना बढेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। खातुनको विवाह तीन वर्षअघि भएको थियो भने उनका पति डेढ वर्षदेखि साउदीमा छन्।
शवलाई पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।