काठमाडाैं । मेल्लेख गाउँपालिकाले करार कर्मचारी हटाउँदा स्वास्थ्य र शिक्षा सेवामा गम्भीर असर परेको छ। कर्मचारी अभावका कारण गाउँपालिकाले सञ्चालन गरेको आँखा उपचार केन्द्र बन्द भएको छ भने आधारभूत अस्पतालको सेवा पनि सीमित भएको छ।
गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकारका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रपछि कात्तिक ३० गतेको कार्यपालिका निर्णय बमोजिम मंसिर १ गतेदेखि ४८ जना स्वास्थ्यकर्मी र २१ जना अन्य करार कर्मचारीको करार रद्द गरिएको हो। स्वास्थ्यकर्मी हटाउँदा बर्थिङ सेन्टर एक जनाको भरमा सञ्चालन हुन बाध्य भएको छ।

स्वास्थ्य शाखा प्रमुख वीरबहादुर ठकुल्लाले बताएअनुसार, आधारभूत अस्पतालमा एमबीबीएस डाक्टरको सेवा बन्द भएको छ। हाल हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब र अनमी एक–एक जनाले सीमित सेवाहरू सञ्चालन गरिरहेका छन्। आँखा उपचार केन्द्रमा पनि जनशक्ति अभावले सेवा ठप्प भएको छ।
शिक्षा क्षेत्रमा पनि ठूलो असर परेको छ। करार शिक्षक हटाउँदा ५ वटा आधारभूत विद्यालय पूर्णरुपमा बन्द हुने अवस्थामा पुगेको छ। यसले करिब ३ सय बढी विद्यार्थीलाई प्रत्यक्ष प्रभावित बनाएको छ। ११ र १२ कक्षा सञ्चालन गर्ने ६ वटा विद्यालयमा पनि कक्षा बन्द हुने जोखिम रहेको शिक्षा शाखा प्रमुख विरेन्द्र खड्काले बताए।
गाउँपालिका अध्यक्ष ज्वाला साउँदको संयोजकत्वमा सरोकारवालाहरूको २७ सदस्यीय समिति गठन गरिएको छ। उनका अनुसार, विद्यालय बन्द नहुने सुनिश्चित गर्न एक महिनासम्म करार शिक्षक हटाइएको छैन। समितिको प्रतिवेदन आएपछि थप प्रक्रिया अघि बढाइनेछ।
ताम्राकारले बताएअनुसार, “करार कर्मचारी हटाउँदा स्वास्थ्य सेवा र शिक्षा दुवै क्षेत्रमा गम्भीर असर परेको छ। दुर्गम र विकट क्षेत्रमा सेवा उपलब्ध गराउन थप योजना बनाइरहेका छौं।”